काठमाडौ । नेपाली कांग्रेसका तर्फबाट पाल्पा निर्वाचन क्षेत्र नम्बर–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सन्दीप रानाले भारतको सिक्किम राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले) सँग शिष्टाचार भेट गर्नुभएको छ।
भेटका अवसरमा सांसद रानाले पाल्पामा उत्पादित परम्परागत ढाका टोपी र दोसल्ला ओढाएर मुख्यमन्त्री तामाङलाई सम्मान गर्नुभएको थियो।
उक्त अवसरले नेपाल–सिक्किमबीचको सांस्कृतिक आत्मीयता र मैत्री सम्बन्धलाई थप सुदृढ बनाएको विश्वास व्यक्त गरिएको छ। भेटका क्रममा सांसद रानाले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार खेलाडी साबित्रा भण्डारी (साम्बा)को उपचार तथा खेलाडी प्रीति राईलाई मुख्यमन्त्री तामाङले प्रदान गर्नुभएको सहयोगप्रति हार्दिक आभार व्यक्त गर्नुभयो।
त्यसैगरी, नेपाली साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा सिक्किम सरकारले पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै उहाँले नेपाल र सिक्किमबीच सांस्कृतिक तथा जनस्तरको सम्बन्ध अझ सुदृढ बनाउने विषयमा सकारात्मक छलफल भएको जानकारी दिनुभयो।