Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

७ वर्षको प्रतीक्षापछि नागढुंगा सुरुङ सञ्चालनमा : अब काठमाडौं–धादिङ यात्रा सहज


१०, साउन २०८३
  • 58
    SHARES
  • ७ वर्षको प्रतीक्षापछि नागढुंगा सुरुङ सञ्चालनमा : अब काठमाडौं–धादिङ यात्रा सहज

    काठमाडौं । नेपालकै बहुप्रतीक्षित पूर्वाधार आयोजनामध्ये एक नागढुंगा–सिस्ने खोला सुरुङ मार्ग सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। काठमाडौं र धादिङलाई जोड्ने यो सुरुङ मार्गको उद्घाटनसँगै राजधानी प्रवेश गर्ने यात्रु तथा सवारीसाधनका लागि नयाँ युगको सुरुवात हुने अपेक्षा गरिएको छ।

    करिब २९ अर्ब रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको यो सुरुङ मार्ग शिलान्यास भएको झण्डै सात वर्षपछि सञ्चालनमा आउन लागेको हो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कार्तिक ४ गते यसको शिलान्यास गरेका थिए। प्रारम्भिक सम्झौताअनुसार ४२ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि कोभिड–१९ महामारी, मुआब्जा विवाद तथा अन्य प्राविधिक चुनौतीका कारण आयोजना निर्धारित समयभन्दा ढिलो सम्पन्न भएको हो।

    निर्माणका क्रममा २०८० साउन २२ गते आपतकालीन प्रयोजनका लागि बनाइएको **'रेस्क्यु टनेल'**को ब्रेक थ्रु गरिएको थियो। त्यसबेला मुख्य सुरुङको ८२ प्रतिशत निर्माण सम्पन्न भइसकेको थियो भने करिब ५०६ मिटर सुरुङ खन्न बाँकी रहेको थियो। त्यसको करिब १० महिनापछि २०८१ असार ३ गते तत्कालीन प्रधानमन्त्री **पुष्पकमल दाहाल ‘प्रचण्ड’**ले मुख्य सुरुङको ब्रेक थ्रु गरेका थिए।

    मुख्य सुरुङको लम्बाइ २.६८ किलोमिटर रहेको छ भने २.५५७ किलोमिटर लामो छुट्टै आपतकालीन सुरुङ पनि निर्माण गरिएको छ। यसले दुर्घटना वा आपतकालीन अवस्थामा उद्धार कार्यलाई सहज बनाउने विश्वास गरिएको छ।

    यो आयोजना नेपाल र जापानबीचको सहकार्यको महत्वपूर्ण उदाहरणका रूपमा हेरिएको छ। प्रारम्भिक सम्झौताअनुसार जापान सरकारले करिब १६ अर्ब ५० करोड रुपैयाँ बराबरको सहुलियत ऋण सहायता उपलब्ध गराएको थियो भने नेपाल सरकारले करिब ६ अर्ब रुपैयाँ लगानी गर्ने व्यवस्था गरिएको थियो। निर्माण अवधिमा लागत बढेपछि जापानले थप ५ अर्ब रुपैयाँ ऋण सहायता उपलब्ध गराएको थियो। आयोजनाको निर्माण जिम्मा जापानको हाज्मा आन्दो कर्पोरेसनले लिएको थियो।

    सुरुङ मार्ग उद्घाटनसँगै पूर्ण रूपमा सबै सवारीका लागि भने खुला हुने छैन। पहिलो दिन आपतकालीन प्रयोजनका सवारीसाधनलाई मात्र प्रवेश दिइनेछ। त्यसपछि परीक्षण र व्यवस्थापनको अवस्था मूल्याङ्कन गर्दै निजी तथा सार्वजनिक सवारीसाधनलाई चरणबद्ध रूपमा सञ्चालनको अनुमति दिइने सरकारी तयारी छ।

    सुरुङभित्र पैदलयात्री, मोटरसाइकल तथा अन्य दुई पाङ्ग्रे सवारीसाधन, साथै डिजेल, पेट्रोल र अन्य प्रज्वलनशील पदार्थ बोकेका सवारीसाधनलाई प्रवेश निषेध गरिएको छ। सुरक्षालाई प्राथमिकतामा राख्दै यस्तो व्यवस्था गरिएको हो।

    सुरुङ मार्ग प्रयोग गर्न भने सवारीसाधनले शुल्क तिर्नुपर्नेछ। सरकारले निर्धारण गरेको शुल्कअनुसार कार तथा भ्यानले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ। मिनीबस तथा टिपरका लागि प्रवेश शुल्क ११५ रुपैयाँ र बाहिरिने शुल्क ८० रुपैयाँ तोकिएको छ। बस तथा ट्रकले प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ तिर्नुपर्नेछ। हेभी ट्रकका लागि प्रवेश शुल्क ६०० रुपैयाँ र बाहिरिने शुल्क २५० रुपैयाँ निर्धारण गरिएको छ।

    नागढुंगा–सिस्ने खोला सुरुङ मार्ग सञ्चालनमा आएपछि काठमाडौं–धादिङ खण्डमा हुने लामो ट्राफिक जाम, वर्षायाममा पहिरोका कारण हुने सास्ती तथा यात्रामा लाग्ने समय उल्लेखनीय रूपमा घट्ने अपेक्षा गरिएको छ। यसलाई नेपालको आधुनिक सडक पूर्वाधार विकासतर्फको ऐतिहासिक उपलब्धिका रूपमा समेत हेरिएको छ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend