काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोसी नदीमा शनिबार साँझ चालकसहित खसेको विद्युतीय सवारीसाधन (ईभी) र चालकको खोजी कार्यलाई तीव्र पारिएको छ। खोज तथा उद्धार अभियानको स्थलगत अनुगमन तथा सुरक्षाकर्मीलाई हौसला प्रदान गर्न गृहमन्त्री सुदन गुरुङ घटनास्थल पुगेका छन्।
प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार गृहमन्त्रीको निरीक्षणपछि खोजी अभियानलाई थप प्रभावकारी बनाउन १० वटा ड्रोन, तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मी तथा दक्ष गोताखोर परिचालन गरिएको छ। उनीहरूले दुर्घटनामा बेपत्ता भएका कालिका गाउँपालिका–३, तल्लो धारापानी निवासी २२ वर्षीय सविन तामाङको खोजी गरिरहेका छन्।
खोज तथा उद्धार कार्यको समन्वय जिल्ला विपद् व्यवस्थापन समितिले गरिरहेको छ। समितिका अनुसार दुर्घटनास्थल अत्यन्तै जोखिमपूर्ण रहेको छ। नदीको गहिरो खोँच, वर्षाका कारण धमिलो बनेको पानी तथा किनारमा रहेका विशाल चट्टानका कारण खोजी अभियानमा चुनौती थपिएको छ।
सुरक्षाकर्मीले आधुनिक प्रविधि र विशेष उद्धार टोलीको सहयोगमा बेपत्ता चालकको खोजीलाई निरन्तरता दिएका छन्। स्थानीय प्रशासनले उद्धार कार्यलाई उच्च प्राथमिकतामा राख्दै आवश्यक सबै स्रोत–साधन परिचालन गरिएको जनाएको छ।