भायन्दर (महाराष्ट्र) । नेपाली जनसम्पर्क समिति भारतको १०औँ अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सफलतापूर्वक सम्पन्न भएको छ। अधिवेशनबाट दीपक झाको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत/निर्वाचित भएको हो।
अधिवेशनमा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमर सिंह पुन र प्रतिनिधिसभा सदस्य सन्दीप रानाको गरिमामय उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै उनीहरूले संगठनभित्र अब प्रतिस्पर्धाको अध्याय समाप्त भइसकेकाले कसैलाई विजेता वा पराजितका रूपमा होइन, एउटै परिवारका सदस्यका रूपमा सम्मान गर्दै सबैलाई साथमा लिएर अघि बढ्नुपर्नेमा जोड दिए।
उनीहरूले भारतमा बसोबास गर्ने नेपाली कांग्रेससम्बद्ध कार्यकर्ताहरूको साझा संगठन नेपाली जनसम्पर्क समिति भारत भएकाले कुनै पनि प्रकारको विभेद, तिक्तता वा दूरीलाई अन्त्य गर्दै समावेशी, सशक्त र एकताबद्ध संगठन निर्माण गर्न नयाँ नेतृत्व सफल हुने विश्वास व्यक्त गरे।
संगठनको मूल शक्ति एकता, आपसी विश्वास र सहकार्य भएकाले नयाँ कार्यसमितिले सबै पक्षलाई समेटेर अघि बढ्नुपर्ने धारणा समेत उनीहरूको थियो। साउन ९ र १० गते (दुई दिनसम्म )सञ्चालन भएको अधिवेशनमा भारतका विभिन्न राज्य तथा क्षेत्रबाट प्रतिनिधि र कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
सहभागीहरूले संगठनलाई अझ प्रभावकारी, गतिशील र लोकतान्त्रिक मूल्य–मान्यताअनुसार अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए। अधिवेशनले नयाँ नेतृत्व चयनसँगै संगठनलाई थप मजबुत, सक्रिय र सबैलाई समेट्ने दिशामा अगाडि बढाउने विश्वास व्यक्त गर्दै सौहार्दपूर्ण वातावरणमा कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ।