काठमाडौं l किवानिज इन्टरनेशनल नेपाल डिस्ट्रिक्टका डिस्ट्रिक्ट गभर्नर डा. रामशरण थपलियाले बालबालिकाको हित र सेवामा किवानिजका सदस्यहरूले अझ सक्रिय र अग्रणी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको छ।
शनिबार काठमाडौंस्थित युनिभर्सल क्याफेमा आयोजित किवानिज क्लब अफ नमस्ते नेपालको दोस्रो वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले किवानिजले शिक्षा, स्वास्थ्य, पोषण, वातावरण संरक्षण तथा सामुदायिक सेवाका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै देशभर आफ्नो सेवा विस्तार गरिरहेको बताउनुभयो।
डा. थपलियाका अनुसार सन् २०१६ मा औपचारिक रूपमा नेपाल डिस्ट्रिक्टको मान्यता प्राप्त गरेयता किवानिज नेपाल १० डिभिजनअन्तर्गत १२७ भन्दा बढी क्लब र करिब १,८०० सदस्यसहित सक्रिय रूपमा सामाजिक सेवामा संलग्न रहेको छ।
उहाँले संस्थाको मूल उद्देश्य ‘बालबालिकाको जीवनस्तर सुधार’ रहेको उल्लेख गर्दै विद्यालय सहयोग, स्वास्थ्य शिविर, वृक्षारोपण, विपद् राहत, छात्रवृत्ति वितरण तथा बालमैत्री कार्यक्रममार्फत समुदायमा सकारात्मक परिवर्तन ल्याउने काम भइरहेको जानकारी दिनुभयो।
कार्यक्रममा किवानिज क्लब अफ नमस्तेका अध्यक्ष शिवहरि खनालले क्लबका सम्पूर्ण सदस्यहरूको सक्रियता र समर्पणप्रति आभार व्यक्त गर्दै सदस्य संख्या विस्तारसँगै सेवामूलक अभियानलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाउनुभयो।
त्यसैगरी, किवानिज इन्टरनेशनलका बोर्ड ट्रष्टी मोहन लम्सालले नेपाल डिस्ट्रिक्टको अन्तर्राष्ट्रिय उपस्थितिसमेत सुदृढ बन्दै गएको उल्लेख गर्दै विश्वव्यापी स्वयंसेवक सञ्जालमार्फत प्रत्येक बालबालिका र समुदायको जीवनस्तर सुधार्ने लक्ष्यप्रति किवानिज दृढ रहेको बताउनुभयो।
समारोहमा फर्स्ट लेडी सावित्री खनालको जन्मोत्सवको अवसरमा केक काटेर शुभकामना आदान–प्रदान गरिएको थियो। कार्यक्रममा क्लबका आगामी योजना, सामुदायिक परियोजनाहरू तथा स्वयंसेवकको सहभागिता अभिवृद्धिका रणनीतिबारे समेत छलफल भएको थियो।
आयोजकहरूले बालबालिकाको जीवनस्तर उकास्ने अभियानलाई थप प्रभावकारी बनाउन स्थानीय तथा राष्ट्रिय तहका विभिन्न सहयोगी संस्थासँग समन्वय र सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।