काठमाडौँ । नेपाल प्रहरीले डिजिटल माध्यमबाट बढ्दो मानव बेचबिखन, अनलाइन ठगी र साइबर अपराध नियन्त्रण गर्न साइबर ब्यूरोअन्तर्गत ‘एन्टी साइबर स्क्याम सेल’ स्थापना गर्ने प्रस्ताव अघि बढाएको छ। पछिल्ला वर्षहरूमा वैदेशिक रोजगारीको प्रलोभनमा नेपालीलाई विदेश पुर्याएर बन्धक बनाउँदै अनलाइन ठगीमा संलग्न गराउने घटनामा वृद्धि भएपछि प्रहरीले विशेष संयन्त्र गठनको तयारी थालेको हो।
विश्व मानव बेचबिखनविरुद्धको दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले परम्परागत मानव बेचबिखन अहिले डिजिटल स्वरूपमा रूपान्तरण हुँदै गएको बताएका छन्। उनका अनुसार अहिले ‘साइबर स्लेभरी’ र ‘फोर्स्ड क्रिमिन्यालिटी’ मानव बेचबिखनको नयाँ चुनौतीका रूपमा देखा परेका छन्।
महानिरीक्षक कार्कीले आकर्षक तलब–सुविधासहितको रोजगारीको आश्वासन दिएर नेपालीलाई विदेश लगिने, त्यसपछि उनीहरूलाई बन्धक बनाई डिजिटल प्लेटफर्ममार्फत जबर्जस्ती अनलाइन ठगी, साइबर स्क्याम तथा अन्य साइबर अपराधमा संलग्न गराउने प्रवृत्ति तीव्र रूपमा बढिरहेको बताए। उनले यसलाई राष्ट्रिय सुरक्षासँगै मानव अधिकारका दृष्टिले पनि गम्भीर चुनौतीका रूपमा चित्रण गरे।
प्रहरीका अनुसार पछिल्लो तीन वर्षमा मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी ५३० वटा मुद्दा दर्ता भएका छन्। ती घटनामा ७१० जना पीडित पहिचान भएकामध्ये ८६ प्रतिशत महिला तथा बालबालिका रहेका छन्। दक्षिण–पूर्वी एसिया र भारतमा सञ्चालन गरिएका उद्धार अभियानबाट उद्धार गरिएकामध्ये पनि ८७ प्रतिशत महिला तथा बालबालिका रहेको तथ्यांकले यो अपराधको भयावह अवस्था देखाएको छ। यद्यपि पछिल्ला वर्षहरूमा पुरुष पीडितको संख्या पनि उल्लेख्य रूपमा बढ्दै गएको प्रहरीले जनाएको छ।
महानिरीक्षक कार्कीले अब मानव बेचबिखनका घटनाको अनुसन्धान केवल अपराधी पहिचान र कानुनी कारबाहीमा मात्र सीमित नरहने स्पष्ट पारे। उनका अनुसार पीडितले भोगेको शारीरिक, मानसिक र आर्थिक क्षतिको समेत विस्तृत अनुसन्धान गरी न्याय सुनिश्चित गर्ने दिशामा प्रहरी अघि बढिरहेको छ।
उनले वैदेशिक रोजगारीका लागि विश्वका विभिन्न मुलुकमा रहेका नेपाली नागरिकको सुरक्षा र कानुनी सहजीकरणका लागि प्रहरी सहचारीको सञ्जाल विस्तार गर्नुपर्ने आवश्यकता पनि औँल्याए। भारतमा जस्तै खाडी मुलुक, युरोप, अमेरिका र मलेसियामा समेत प्रहरी सहचारी खटाउन सके विदेशमा समस्यामा परेका नेपालीलाई तत्काल सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे।
प्रहरीको प्रस्तावित ‘एन्टी साइबर स्क्याम सेल’ ले डिजिटल माध्यमबाट हुने मानव बेचबिखन, साइबर ठगी तथा अन्तरदेशीय संगठित अपराधको अनुसन्धानलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। सरकार र सम्बन्धित निकायबीच आवश्यक समन्वय भएपछि उक्त विशेष संयन्त्र स्थापना प्रक्रिया अघि बढ्ने प्रहरीको तयारी छ।