चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत मुग्लिन नजिकै सुक्खा पहिरो खस्दा केही घण्टा अवरुद्ध भएको सडक पुनः पूर्ण रूपमा सञ्चालनमा आएको छ। पहिरो हटाइएपछि आज दिउँसो १ः१५ बजेदेखि दुवैतर्फ सवारीसाधन सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार इच्छाकामना गाउँपालिका–५ स्थित खहरे खोलामा आज बिहान करिब ८ः३० बजे करिब ४० मिटर माथिबाट ढुङ्गासहित सुक्खा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो।
पहिरो हटाउने कार्यका लागि नारायणगढबाट लोडर, स्काभेटर र ब्याकहो तथा मुग्लिनबाट थप लोडर परिचालन गरिएको थियो। निरन्तरको प्रयासपछि पहिरो पन्छाएर सडकलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन सफल भएको प्रहरीले जनाएको छ।
यसअघि बिहान ११ः१५ बजे सडक एकतर्फी सञ्चालनमा ल्याएर एम्बुलेन्स, मोटरसाइकल तथा अत्यावश्यक सवारीसाधनलाई प्राथमिकताका साथ गन्तव्यतर्फ पठाइएको थियो।
सडक पूर्ण रूपमा खुलेसँगै पहिरोका कारण लामो समयदेखि रोकिएका यात्रुवाहक तथा मालवाहक सवारीसाधनहरू गन्तव्यतर्फ अघि बढिसकेका छन्। प्रहरीले वर्षायाममा यस सडकखण्डमा यात्रा गर्दा पहिरोको जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन सबै चालकलाई आग्रह गरेको छ।