काठमाडौँ । वीरगञ्जस्थित नारायणी अस्पतालका ६८ जना चिकित्सकले चिकित्सकमाथि भएको कुटपिट र जिल्ला प्रशासन कार्यालय पर्सामा वार्ताका क्रममा भएको व्यवहारको विरोध गर्दै सामूहिक राजीनामा दिएका छन्। चिकित्सकहरूले मंगलबार मेडिकल सुपरिन्टेन्डेन्ट डा. चित्तरञ्जन साहसमक्ष आफ्नो राजीनामा बुझाएका हुन्।
चिकित्सकहरूले गत साउन ८ गते अस्पतालमा कार्यरत डा. प्रमोद राममाथि भएको सांघातिक आक्रमण र अस्पताल परिसरमा भएको तोडफोडपछि आफूहरू असुरक्षित बनेको बताएका छन्। सो घटनापछि उनीहरू आकस्मिकबाहेकका सबै सेवा स्थगित गर्दै आन्दोलनमा उत्रिएका थिए।
अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंहका अनुसार स्वास्थ्य मन्त्रालयको आग्रहमा समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालय पर्सामा वार्तामा पुगेका चिकित्सकहरूले त्यहाँ पनि अपमानजनक व्यवहार भोग्नुपरेको आरोप लगाएका छन्। उनका अनुसार प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखले चिकित्सकहरूसँग अपशब्द प्रयोग गर्नुका साथै करिब एक घण्टासम्म नियन्त्रणमा राखेको आरोप छ।
प्रवक्ता सिंहले वार्तामा समाधान खोज्न गएका चिकित्सकलाई अपराधीसरह व्यवहार गरिएको भन्दै यस्तो वातावरणमा सरकारी अस्पतालमा सेवा दिन सम्भव नरहेको निष्कर्षसहित सामूहिक राजीनामा दिने निर्णय गरिएको बताए।
उक्त घटनाले देशभरका स्वास्थ्यकर्मीमा असन्तुष्टि बढाएको छ। चिकित्सकमाथि भएका आक्रमण र प्रशासनको व्यवहारको विरोधमा नेपाल चिकित्सक सङ्घले मंगलबार देशभरका सरकारी तथा निजी स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने घोषणा गरेको छ।
नारायणी अस्पतालका चिकित्सकहरूको सामूहिक राजीनामासँगै स्वास्थ्य क्षेत्रको आन्दोलन थप चर्किने संकेत देखिएको छ। चिकित्सकहरूले दोषीमाथि कडा कानुनी कारबाही, स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चितता र सम्मानजनक कार्य वातावरणको ग्यारेन्टी नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन्।