काठमाडौँ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ स्थित तातोपानी भन्सार क्षेत्रमा मध्यराति खसेको भीषण सुक्खा पहिरोले सशस्त्र प्रहरी बलको सीमा सुरक्षा बेस (बीओपी) मा क्षति पुर्याएको छ। ठूलो चट्टान र ढुंगासहित अचानक पहिरो खसे पनि सौभाग्यवश घटनामा कुनै मानवीय क्षति भएको छैन।
सशस्त्र प्रहरीका अनुसार राति करिब १ः१५ बजे बीओपीको उत्तर–पश्चिमतर्फ रहेको करिब २०० देखि ३०० मिटर अग्लो डाँडाबाट अचानक सुक्खा पहिरो खसेको हो। पहिरो अत्यन्त तीव्र गतिमा खसेका कारण त्यससँगै आएका विशाल चट्टान तथा ढुंगाले बीओपी परिसरमा रहेका विभिन्न संरचनामा क्षति पुर्याएका छन्।
रातको समयमा अधिकांश सुरक्षाकर्मी विश्राममा रहेको अवस्थामा पहिरो खसेपछि बीओपी क्षेत्रमा केही समय त्रासको वातावरण सिर्जना भएको थियो। ठूलो आवाजसहित चट्टान र ढुंगा खस्दा सुरक्षाकर्मीहरू सुरक्षित स्थानतर्फ सर्न बाध्य भएका थिए। यद्यपि समयमै सतर्कता अपनाइएकाले मानवीय क्षति हुनबाट जोगिएको सशस्त्र प्रहरीले जनाएको छ।
तातोपानी क्षेत्र भौगोलिक रूपमा जोखिमपूर्ण मानिन्छ। चीनसँगको प्रमुख उत्तरी नाका रहेको यस क्षेत्रमा वर्षायाममा पहिरो तथा ढुंगा खस्ने जोखिम उच्च हुने गरेको छ। पछिल्लो घटनाले सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीको सुरक्षा तथा पूर्वाधारको जोखिमलाई पुनः उजागर गरेको छ।
पहिरोपछि बीओपी परिसरको अवस्थाबारे सुरक्षा निकायले स्थलगत निरीक्षण तथा क्षतिको विवरण संकलन गरिरहेको छ। थप पहिरो खस्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै आसपासको क्षेत्रको जोखिम मूल्याङ्कनसमेत भइरहेको बताइएको छ।
तातोपानी भन्सार क्षेत्रमै ठूलो पहिरो खसेकाले सीमा सुरक्षा, भन्सार पूर्वाधार तथा आवागमनमा समेत थप जोखिम उत्पन्न हुन सक्ने देखिएको छ। सम्भावित जोखिम रोक्न सम्बन्धित निकायबीच समन्वय आवश्यक देखिएको छ।
विशेषगरी सुक्खा पहिरोसँगै ठूला चट्टान खसेकाले पहिरोको जोखिम तत्कालै समाप्त भएको मान्न सकिने अवस्था छैन। त्यसैले बीओपीमा कार्यरत सुरक्षाकर्मी तथा आसपासका बासिन्दालाई थप सतर्क रहनुपर्ने अवस्था देखिएको छ।