काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज अधिकांश भूभागमा बदलीसहित वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले वर्षाको गतिविधि बढेको हो। हाल बागमती र गण्डकी प्रदेशमा सामान्य बदली छ भने अन्य क्षेत्रमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। बागमतीका थोरै तथा गण्डकीका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा वर्षासँगै हिमपात र मध्यम वर्षाको सम्भावना छ भने पहाडी भूभागका धेरै स्थानमा मध्यमसम्म वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ। लुम्बिनी र सुदूरपश्चिमका तराईका केही तथा मधेश, कोशी, बागमती र गण्डकीका तराईका थोरै स्थानमा समेत मध्यम वर्षाको सम्भावना रहेको छ।
यसैबीच कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभाग र कर्णालीको पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। भारी वर्षाले सडक यातायात, दैनिक जनजीवन तथा स्थानीय आवागमनमा असर पार्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउनुपर्ने देखिएको छ।
आज रातिसमेत देशभर सामान्यतया बदली रहनेछ। हिमाली क्षेत्रमा केही स्थानमा वर्षा र हिमपात हुने सम्भावना छ। कोशी र सुदूरपश्चिमका पहाडी तथा तराई भूभागका धेरै स्थानमा मध्यम वर्षा हुनसक्नेछ भने मधेश, कर्णालीका पहाडी क्षेत्र तथा बागमती, गण्डकी र लुम्बिनीका पहाडी तथा तराई भूभागका केही स्थानमा पनि मध्यम वर्षाको सम्भावना छ।
रातिको समयमा कोशीका हिमाली, पहाडी र तराई क्षेत्र, बागमतीका हिमाली तथा पहाडी भूभाग, गण्डकी र कर्णालीका पहाडी क्षेत्र तथा मधेश र सुदूरपश्चिमका केही भूभागमा एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने मौसमविद्हरूले बताएका छन्। वर्षाको सम्भावना रहेका क्षेत्रमा पहिरो, डुबान तथा सडक अवरोधको जोखिम हुनसक्ने भएकाले स्थानीय बासिन्दा तथा यात्रुलाई आवश्यक सतर्कता अपनाउन सुझाव दिइएको छ।