Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

ग्यास अभावदेखि मल आपूर्तिसम्म सरकारमाथि कांग्रेसको प्रश्न : तदर्थवादी निर्णय बन्द गर्न माग


२५, साउन २०८३
  • 76
    SHARES
  • ग्यास अभावदेखि मल आपूर्तिसम्म सरकारमाथि कांग्रेसको प्रश्न : तदर्थवादी निर्णय बन्द गर्न माग

    काठमाडौ । ग्यास आयात दोब्बर बढाई पर्याप्त स्टक राख्न, विद्युत्मा लगाइएको अतिरिक्त कर हटाउन र किसानलाई सहज रूपमा मल उपलब्ध गराउन माग।
    ललितपुर, श्रावण २५, २०८३। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले खाना पकाउने ग्यासको आपूर्ति, ऊर्जा नीति, कृषि तथा मल आपूर्ति, बजार व्यवस्थापन, महँगी र सुशासनलगायतका विषयमा सरकारको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेको छ।

    पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा श्रावण २४ गतेदेखि पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा जारी बैठकले तत्काल ग्यासको आपूर्ति सहज बनाउनदेखि किसानलाई सहजरूपमा मल उपलब्ध गराउनेसम्मका विषयमा सरकारसँग विभिन्न माग अघि सारेको हो।

    बैठकले सरकारलाई तदर्थवादी निर्णय बन्द गरी दीर्घकालीन योजना र पूर्वतयारीका आधारमा निर्णय गर्न आग्रह गरेको छ।
    ग्यास आपूर्ति सहज बनाउन माग
    कांग्रेसले करिब चार महिनाअघि मध्यपूर्वमा भएको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको आपूर्ति प्रणाली प्रभावित भएपछि नेपालमा ग्यासको अभाव हुन नदिन सिलिन्डरमा ७.१ केजी ग्यास भरेर बजार व्यवस्थापन गरिएको स्मरण गराएको छ।

    तर, अहिले सरकारले १४.२ केजी क्षमताको सिलिन्डरमा ग्यास भर्न निर्देशन दिनुअघि उपलब्ध स्टक, आयातको परिमाण, आयात क्षमता तथा बजारको वास्तविक आवश्यकताको पर्याप्त अध्ययन नगरेको कांग्रेसको आरोप छ।

    सरोकारवालासँग आवश्यक छलफल र पूर्वतयारीबिनै हचुवाका भरमा निर्णय गर्दा बजारमा खाना पकाउने ग्यासको गम्भीर अभाव सिर्जना भएको र त्यसको प्रत्यक्ष मार उपभोक्ताले खेप्नुपरेको कांग्रेसले जनाएको छ।

    ठोस योजना र पूर्वतयारीबिना १४.२ केजीको सिलिन्डर वितरण गर्ने निर्णयले बजारमा ग्यासको अभाव झन् बढाएको भन्दै कांग्रेसले यसलाई सरकारको ‘तदर्थवादी निर्णय र स्टन्टबाजी’ को संज्ञा दिएको छ।

    कांग्रेसले तत्काल कूटनीतिक पहलमार्फत ग्यासको आयात कम्तीमा दोब्बर बढाउन, पर्याप्त भण्डारण सुनिश्चित गर्न, आपूर्ति सञ्जाल व्यवस्थित र सहज बनाउन तथा बजारमा खाना पकाउने ग्यासको सुलभ र निरन्तर उपलब्धता सुनिश्चित गर्न सरकारसँग माग गरेको छ।

    विद्युत् खपतमा अतिरिक्त कर हटाउन माग
    कांग्रेसले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर घटबढ भइरहने अवस्थालाई ध्यानमा राख्दै विगतका सरकारले आन्तरिक विद्युत् खपत बढाउने र ग्यासको प्रयोगलाई क्रमशः विस्थापन गर्ने नीति लिएको जनाएको छ।
    त्यसअनुसार इन्डक्सन चुलो लगायतका विद्युतीय उपकरणमा उपभोक्तालाई सहुलियत दिने व्यवस्था गरिएको भए पनि वर्तमान सरकारले विद्युत् खपतमा विभिन्न शीर्षकमा कर थपेर स्वच्छ ऊर्जाको प्रयोगलाई निरुत्साहित गरेको कांग्रेसको आरोप छ।

    ग्यासको विकल्पका रूपमा विद्युत्को प्रयोगलाई प्रोत्साहन गर्न विद्युत् खपतमा लगाइएका अतिरिक्त कर तत्काल हटाउन, इन्डक्सन चुलो लगायतका विद्युतीय उपकरणमा पुनः सहुलियत दिन तथा ग्यास विस्थापन गर्ने स्पष्ट र दीर्घकालीन ऊर्जा नीति अविलम्ब कार्यान्वयन गर्न कांग्रेसले माग गरेको छ।

    किसानलाई मल र उत्पादनको उचित बजार सुनिश्चित गर्न माग
    कांग्रेसले सरकारको असक्षमताका कारण यातायात तथा बजार व्यवस्थापन अस्तव्यस्त बनेको र बजारमा बिचौलियाको प्रभाव बढेको आरोप लगाएको छ।
    यसबाट आम उपभोक्ता चरम महँगीको मारमा परेको तथा साना र मझौला किसानले आफ्ना उत्पादनको उचित मूल्य र बजार पाउन नसकेको कांग्रेसको भनाइ छ।

    मुख्य खेतीपातीको सिजनमै रासायनिक मलको अभाव हुँदा किसान अनौपचारिक बजारमा मल खोज्न बाध्य भएको उल्लेख गर्दै कांग्रेसले सीमावर्ती क्षेत्रका नेपाली किसान मल खरिदका लागि भारतीय बजारसम्म पुग्दा कानुनी झमेलामा परी महिनौँसम्म जेल सजाय भोग्नुपरेको अवस्थाप्रति समेत ध्यानाकर्षण गराएको छ।

    कांग्रेसले किसानलाई मुख्य बाली लगाउने सिजनमै अनुदानको रासायनिक मल सहज रूपमा उपलब्ध गराउन, मलको कालोबजारी र बिचौलियाको अन्त्य गर्न, साना तथा मझौला किसानका उत्पादनले उचित बजार र समर्थित मूल्य पाउने व्यवस्था गर्न तथा सीमावर्ती क्षेत्रका किसानले भोग्दै आएको समस्याको स्थायी समाधान गर्न सरकारसँग माग गरेको छ।

    महँगी नियन्त्रण र सुशासनमा सरकार असफल भएको आरोप
    कांग्रेसले वर्तमान सरकार जनजीविकासँग प्रत्यक्ष जोडिएका वास्तविक समस्या समाधान गर्नुभन्दा सस्तो लोकप्रियता र प्रचारबाजीमा केन्द्रित भएको आरोप लगाएको छ।

    ग्यासको अभाव, विद्युत्मा कर वृद्धि तथा कमजोर आपूर्ति व्यवस्थापनका कारण खाद्य सामग्रीलगायत दैनिक उपभोग्य वस्तुको मूल्य बढेको र आम नागरिकको भान्सा महँगिएको कांग्रेसको निष्कर्ष छ।
    सरकारले सुशासन, मूल्य नियन्त्रण र नागरिकका समस्या समाधान गर्ने विषयमा गरेका ठूला–ठूला घोषणा तथा प्रतिबद्धता व्यवहारमा असफल भएको कांग्रेसले जनाएको छ।

    कांग्रेसले सरकारलाई प्रचारबाजी र सस्तो लोकरिझ्याइँभन्दा बाहिर निस्केर दैनिक उपभोग्य वस्तुको अनियन्त्रित मूल्यवृद्धि रोक्न, आपूर्ति प्रणाली प्रभावकारी र पारदर्शी बनाउन, बजार अनुगमन तीव्र पार्न तथा आम नागरिक, किसान, मजदुर र श्रमिक वर्गको जीविकोपार्जन सहज बनाउने ठोस राहतका कार्यक्रम तत्काल ल्याउन आग्रह गरेको छ।

    २२ केन्द्रीय सदस्यले धारणा राखे
    केन्द्रीय कार्यसमितिको आजको बैठकमा २२ जना केन्द्रीय सदस्यले आ–आफ्नो धारणा व्यक्त गरेका छन्। बैठकमा छलफल जारी रहेको कांग्रेसले जनाएको छ।

    धारणा व्यक्त गर्ने केन्द्रीय सदस्यहरूमा राजीव कोइराला, भरतकुमार शाह, दिलकुमारी राई, शम्भुलाल श्रेष्ठ, रेशमबहादुर बानियाँ, जीतनारायण श्रेष्ठ, रमेश धमला, डा. केदारनरसिंह के.सी., तीर्थजंग शाही, बजरंग नेपाली, उमा दाहाल, पवित्राकुमारी अर्याल, केशवराज शर्मा आचार्य, धर्मबहादुर दर्जी नेपाली, सूर्यबहादुर वि.क., दिनेश सुनार, उमा शिवाकोटी, बाला अधिकारी, सम्झना खत्री, रामरूपप्रसाद कुर्मी, नरेन्द्रप्रसाद भट्ट तथा केन्द्रीय सदस्य एवं मधेश प्रदेश सभापति कृष्णप्रसाद यादव रहेक

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend