काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न भागमा सडक यातायात प्रभावित भएको छ। नेपाल प्रहरीले बिहीबार बिहान ६ बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार कोशीदेखि कर्णाली प्रदेशसम्मका विभिन्न मुख्य राजमार्ग तथा सडकखण्डमा आवागमन अवरुद्ध वा जोखिमपूर्ण बनेको छ। वर्षा निरन्तर भइरहेकाले सडकको अवस्था जुनसुकै बेला परिवर्तन हुन सक्ने भन्दै प्रहरीले यात्रुलाई सम्बन्धित निकायको सूचना लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ।
कोशी प्रदेशअन्तर्गत भोजपुरको बोखिममा बाढीका कारण मध्यपहाडी लोकमार्ग एकतर्फी रूपमा सञ्चालनमा रहेको छ भने यात्रुको सहजताका लागि वैकल्पिक मार्गसमेत प्रयोगमा ल्याइएको छ। इलामको राजदुवालीमा भने अविरल वर्षाका कारण झापा–ताप्लेजुङ जोड्ने मेची राजमार्ग पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ। उक्त सडक प्रयोग गर्ने यात्रुलाई वैकल्पिक बाटो अपनाउन आग्रह गरिएको छ।
बागमती प्रदेशमा पनि बाढी तथा पहिरोका कारण सडक यातायात जोखिमपूर्ण बनेको छ। काभ्रेपलाञ्चोकको बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुञ्जेबेंसी खण्डमा बाढीको जोखिमलाई ध्यानमा राख्दै साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने सडकको अवस्था हेरेर मात्र यातायात सञ्चालन गर्न दिइने भएको छ। मकवानपुरको हेटौँडा–ठिङ्गन–बागमती–ललितपुर जोड्ने कान्ति लोकपथमा पनि राति ७ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत चारकिलो, कोदारी र लिपिङ क्षेत्रमा पहिरो खसेपछि अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। यस्तै, रसुवाको खाल्टेमा बाढी आएपछि त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडकखण्ड पनि पूर्ण रूपमा बन्द भएको छ। उक्त सडक खुलाउन केही समय लाग्न सक्ने प्रहरीले जनाएको छ।
गण्डकी प्रदेशमा पनि पहिरोका कारण केही सडक प्रभावित भएका छन्। बागलुङको बेलबगरमा कालीगण्डकी करिडोर तथा लमजुङको बिमिरेभञ्ज्याङमा मध्यपहाडी लोकमार्ग पहिरोका कारण प्रभावित भए पनि दुवै सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ। बागलुङको सडकलाई पूर्ण रूपमा दुईतर्फी सञ्चालनमा ल्याउन भने थप समय लाग्ने जनाइएको छ।
लुम्बिनी प्रदेशको रुकुम पूर्वस्थित काडाबगरमा पहिरो खसेपछि मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यसैगरी, कर्णाली प्रदेशको रुकुम पश्चिमस्थित रिजेगार्ड खोलामा आएको बाढीका कारण भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्ड पनि ठप्प भएको छ।
प्रहरीका अनुसार अवरुद्ध सडकमा बाढी तथा पहिरोले थुपारेको माटो, ढुंगा र अन्य अवरोध हटाएर यातायात सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ। तर वर्षा जारी रहेकाले जोखिमयुक्त सडकखण्डमा पुनः बाढी तथा पहिरो आउन सक्ने सम्भावना रहेको छ। प्रहरीले यात्रुलाई अनावश्यक जोखिम नलिन, रातिको समयमा विशेष सावधानी अपनाउन तथा सडकको पछिल्लो अवस्था र सुरक्षा निकायको सूचनाअनुसार मात्र यात्रा गर्न आग्रह गरेको छ।