काठमाडौं । कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले सामाजिक सञ्जालको प्रयोग विकृतितिर उन्मुख हुँदै गएको र यस्ता छाडा गतिविधिलाई नियन्त्रण गर्नेबारे शीर्ष तहका नेताहरुमा छलफल भएको बताउनु भएको छ ।
नेपाल प्रेस युनियनले काठमाडौंमा आयोजना गरेको सूचना प्रविधि विधेयकबारे छलफलमा सहभागी हुनुभएका मन्त्री गुरुङले मिडियालाई नभएर सोसल मिडियालाई नियन्त्रण गर्नेबारे शीर्ष नेताहरुको बैठकमा छलफल भएको बताउनु भएको हो।
मन्त्री गुरुङ्गले भन्नुभयो– म आफू उपस्थित भएको एकदमै सानो तर शीर्ष नेताको बैठकमा त्यो कुरा उठेको थियो। सोसल मिडियाले अति नै गर्न थाले, जे पायो त्यहि गरेको छ । मलाई त सुनै सुन लाएर सुन बुढा बनाए भन्ने कुरा उठेको थियो । यो अवस्थालाई कसरी नियन्त्रण गर्ने भन्ने कुरा भएकोे हो । तर मिडियालाई नियन्त्रण गर्नेगरी विधेयक बनाउनुपर्छ भन्ने कुरा आएको छैन्।
सञ्चार मन्त्रालयले सामाजिक सञ्जाललाई नियन्त्रण गर्नका लागि विधेयक मस्यौदा भएको आफूले सुने पनि त्यसबारे थप जानकारी नरहेको स्पष्ट पार्नुभयो । कार्यक्रममा पत्रकारका नेताहरुले मिडियालाई नियन्त्रण गर्नेगरी सरकारले विधेयक ल्याउन लागेको भन्दै विरोध जनाएका थिए ।