काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र बागमती विश्वविद्यालयबीच उद्यमशीलता विकास, नवप्रवर्तन प्रवद्र्धन, सीप विकास तथा उद्योग–शैक्षिक सहकार्यलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यसहित पाँच वर्षे समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।
समझदारीपत्रमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल र बागमती विश्वविद्यालयका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले हस्ताक्षर गर्नुभएको हो।
सम्झौताले विश्वविद्यालय, उद्योग, स्टार्टअप, लगानीकर्ता तथा नीतिनिर्माताबीच सहकार्यको वातावरण निर्माण गर्दै विद्यार्थीलाई बजारको वास्तविक आवश्यकतासँग जोड्ने र अनुसन्धानलाई व्यावहारिक परिणाममा रूपान्तरण गर्ने लक्ष्य लिएको छ।
समझदारीअनुसार दुवै संस्थाले विशेष तालिम तथा कार्यकारी शिक्षा, क्षमता अभिवृद्धि, स्टार्टअप तथा नवप्रवर्तन प्रवद्र्धन, लगानी प्रोत्साहन, रणनीतिक नेटवर्किङ, अनुसन्धान तथा नीतिगत अध्ययन, ज्ञान आदानप्रदान र भविष्यकेन्द्रित शैक्षिक कार्यक्रम विकासमा संयुक्त रूपमा काम गर्नेछन्।
नेपाल चेम्बरले आफ्ना सदस्य तथा सरोकारवालाको तालिम आवश्यकता पहिचान गरी संयुक्त कार्यक्रम सञ्चालनमा सहकार्य गर्नेछ। बागमती विश्वविद्यालयका विद्यार्थीका लागि इन्टर्नशिप तथा रोजगारी सहयोग केन्द्र स्थापना गर्न सहयोग गर्ने, अनुसन्धान कोष तथा छात्रवृत्ति कार्यक्रम अघि बढाउने र उद्योग क्षेत्रका अनुभवी व्यवसायिक नेतृत्वलाई अतिथि वक्ताका रूपमा विश्वविद्यालयसँग जोड्ने व्यवस्था पनि समझदारीमा समेटिएको छ।
त्यस्तै, बागमती विश्वविद्यालयले आफ्नो शैक्षिक विशेषज्ञता उद्योग क्षेत्रमा उपयोग गर्ने, तालिम तथा कार्यकारी शिक्षा सञ्चालन गर्ने, स्टार्टअप तथा नवप्रवर्तनका लागि परामर्श र मार्गदर्शन उपलब्ध गराउने तथा उद्योग–शिक्षामा आधारित अनुसन्धानलाई प्राथमिकता दिनेछ।
विश्वविद्यालयले सेमिनार, नीति संवाद तथा सम्मेलनमार्फत ज्ञान र अनुभव आदानप्रदानलाई समेत निरन्तरता दिने जनाएको छ।
समझदारीपत्र हस्ताक्षर भएको मितिदेखि पाँच वर्षसम्म लागू हुनेछ। दुवै पक्षको सहमतिमा यसको अवधि थप गर्न सकिने व्यवस्था गरिएको छ।
हस्ताक्षर कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले विश्वविद्यालयले परम्परागत शिक्षाको दायराबाट बाहिर निस्केर उद्यमशीलता र नवप्रवर्तनमा केन्द्रित हुनुपर्ने बताउनुभयो।
“विश्वविद्यालयहरूको मुख्य उद्देश्य केवल रोजगारी खोज्ने जनशक्ति उत्पादन गर्नु होइन, रोजगारी सिर्जना गर्ने उद्यमी र नेतृत्वकर्ता तयार गर्नु हो,” उहाँले भन्नुभयो, “आजको विश्वमा ज्ञान मात्र पर्याप्त छैन, त्यसलाई व्यवसाय, उद्योग र नवप्रवर्तनसँग जोड्न सक्ने क्षमता आवश्यक छ।”
अध्यक्ष अग्रवालले उद्योग र शिक्षाबीचको दूरी घटाउन यस्तो सहकार्य महत्वपूर्ण रहेको उल्लेख गर्दै विश्वविद्यालयबाट उत्पादन हुने जनशक्ति बजारको वास्तविक आवश्यकता पूरा गर्न सक्ने गरी दक्ष हुनुपर्नेमा जोड दिनुभयो।
बागमती विश्वविद्यालयका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले शिक्षा र उद्योगबीचको सम्बन्धलाई व्यवहारिक रूपमा जोड्ने विश्वविद्यालयको अवधारणाअनुसार अघि बढिरहेको बताउनुभयो।
नेपाल चेम्बर अफ कमर्ससँगको सहकार्यले विद्यार्थीलाई उद्योगसँग प्रत्यक्ष जोड्नुका साथै अनुसन्धानलाई व्यवहारिक बनाउन र स्टार्टअप तथा नवप्रवर्तनका नयाँ अवसर सिर्जना गर्न महत्वपूर्ण योगदान पुग्ने उहाँको विश्वास थियो।
यस समझदारीसँगै शिक्षालाई सीप, सीपलाई उद्यम र उद्यमलाई रोजगारीसँग जोड्ने उद्योग–विश्वविद्यालय सहकार्यको नयाँ आधार तयार भएको सरोकारवालाहरूको भनाइ छ।