काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय भेला आयोजना गर्दैछ। बिहान ११ः३० बजे सुरु हुने भेलामा निवर्तमान सभापति शेरबहादुर देउवा प्रमुख अतिथिका रूपमा सहभागी हुँदै सम्बोधन गर्ने कार्यक्रम छ।
स्वास्थ्य उपचारका क्रममा पाँच महिना विदेशमा रहेका देउवा साउन २८ गते काठमाडौं फर्किएलगत्तै कांग्रेसको आन्तरिक राजनीतिमा उनको सक्रियता चासोको विषय बनेको छ। त्यसमाथि संस्थापन इतर समूहको भेलामा देउवासँगै नेता डा. शेखर कोइराला समेत सहभागी हुने भएपछि भेलालाई कांग्रेसभित्रको आगामी शक्ति-समीकरणको दृष्टिले अर्थपूर्ण रूपमा हेरिएको छ।
भेलामा करिब पाँच हजार नेता–कार्यकर्ता सहभागी हुने अनुमान गरिएको छ। इतर समूहका प्रचार-प्रसार समिति संयोजक मीन विश्वकर्माका अनुसार भेलाको बन्दसत्र साउन ३० र ३१ गते सञ्चालन हुनेछ।
बन्दसत्रमा कांग्रेसको वर्तमान राजनीतिक अवस्था, संगठन सुदृढीकरण, आगामी रणनीति तथा नयाँ नीति र कार्यक्रमका विषयमा विषयगत छलफल हुने नेताहरूले बताएका छन्।
देउवाको पुनरागमन र शेखर कोइरालाको उपस्थितिका बीच हुने यो भेलाले कांग्रेसभित्रको आगामी राजनीतिक दिशा र शक्ति-सन्तुलनबारे कस्तो सन्देश दिन्छ भन्नेमा राजनीतिक वृत्तको विशेष चासो छ।