पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा नारायणी नदीले तटबन्धको माथिल्लो भाग तीव्र रूपमा कटान गर्न थालेपछि तटीय बस्तीमा जोखिम बढेको छ। कटान नियन्त्रणका लागि नारायणी नदी व्यवस्थापन आयोजनाका प्रमुख डा. नारायणप्रसाद सुवेदी आफैँ कार्यस्थलमा खटिएर स्थानीयवासी र प्राविधिक टोलीसँगै प्रत्यक्ष नेतृत्व गरिरहनुभएको छ।
विगत एक सातादेखि कार्यस्थलमै बसेर उहाँले तटबन्ध संरक्षण तथा कटान नियन्त्रणका कामको अनुगमन र नेतृत्व गर्दै आउनुभएको छ। प्राविधिक निर्देशनमा मात्र सीमित नरही आयोजना प्रमुख सुवेदी आफैँ बालुवाका बोरा भर्ने, पर्कुपाइन सेट गर्ने तथा पर्खाल निर्माणलगायतका काममा समेत सहभागी हुँदै आउनुभएको छ।
सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जयसवालका अनुसार आयोजना प्रमुख आफैँ फिल्डमा खटिएर श्रमदानको भावनाका साथ काममा सहभागी हुँदा स्थानीयवासी र कामदारमा थप उत्साह र भरोसा बढेको छ।
“नदी कटानको संकटपूर्ण समयमा आयोजना प्रमुख आफैँ फिल्डमा खटिएर श्रमदानको भावनाका साथ काम गरिरहनुभएको छ। राष्ट्रिय सेवक कर्मचारी यसरी मैदानमै उत्रिएर काम गर्दा स्थानीय समुदायमा ठूलो हौसला र राहत मिलेको छ,” जयसवालले भन्नुभयो।
लगातारको शारीरिक श्रमका कारण आयोजना प्रमुख सुवेदीको ढाडमा समस्या देखिए पनि उहाँले कार्यस्थल छाड्नुभएको छैन। नदी कटानको गम्भीरता र तटीय क्षेत्रको जोखिमलाई मध्यनजर गर्दै उहाँ निरन्तर नियन्त्रण तथा संरक्षणको काममा सक्रिय रहनुभएको हो।
हाल सुस्ता क्षेत्रमा सयौँ स्थानीयवासी, प्राविधिक तथा कामदार नदी कटान नियन्त्रणमा जुटेका छन्। तत्कालीन जोखिम न्यूनीकरणका लागि तटबन्ध संरक्षण, बालुवाका बोरा राख्ने, पर्कुपाइन जडान गर्ने तथा कटान प्रभावित क्षेत्रमा संरचना निर्माण गर्ने कामलाई तीव्रता दिइएको छ।
आफ्नो सक्रियताबारे आयोजना प्रमुख डा. सुवेदीले नागरिकको सुरक्षा नै आफ्नो प्राथमिक जिम्मेवारी भएको बताउनुभयो।
“यो विपद्को समय हो। प्राविधिक टोली र स्थानीय समुदायसँग मिलेर काम गर्दा मात्रै संकट टार्न सकिन्छ। मेरो उपस्थिति कुनै देखावटी होइन, दायित्व पूरा गर्ने प्रयास मात्र हो,” उहाँले भन्नुभयो।
सुस्तामा नारायणीको कटान वर्षायाममा हरेक वर्ष चुनौतीका रूपमा देखिँदै आएको छ। यसपटक पनि नदीको बहाव र कटान तीव्र बनेपछि तटीय क्षेत्रका बासिन्दा त्रसित छन्। स्थानीय स्रोत–साधनको अधिकतम प्रयोग गर्दै नियन्त्रणको प्रयास भइरहेको भए पनि दीर्घकालीन तटबन्ध निर्माण तथा नदी नियन्त्रणका लागि थप स्रोत र प्राविधिक सहयोग आवश्यक देखिएको छ।
स्थानीय तह र आयोजनाले तत्कालीन बचाउ कार्य अघि बढाइरहे पनि संकटको गम्भीरतालाई ध्यानमा राख्दै सम्बन्धित मन्त्रालय तथा माथिल्लो निकायबाट आवश्यक प्रशासनिक, प्राविधिक र आर्थिक सहयोग तत्काल उपलब्ध गराउनुपर्ने स्थानीयवासीको माग छ।
सुस्ताको तटीय क्षेत्रमा देखिएको जोखिमलाई तत्काल सम्बोधन गर्न सकिएन भने कटानले तटबन्ध मात्र नभई आसपासका बस्ती, खेतीयोग्य जमिन र स्थानीय पूर्वाधारसमेत प्रभावित पार्न सक्ने चिन्ता बढेको छ। यस्तो अवस्थामा आयोजनाका प्रमुखदेखि स्थानीय समुदायसम्मको संयुक्त सक्रियता तत्कालीन उद्धार तथा संरक्षणका लागि महत्वपूर्ण बनेको छ।