काठमाडौं । नेपाली कांग्रेसले आफ्नो ऐतिहासिक अभिवादन तथा राजनीतिक पहिचानसँग जोडिएको ‘जय नेपाल’ शब्दावलीलाई अन्य कुनै राजनीतिक दलको नामका रूपमा प्रयोग गर्न नदिन माग गर्दै निर्वाचन आयोगमा औपचारिक रूपमा प्रतिरोध पत्र दर्ता गराएको छ।
राप्रपाबाट अलग भएका धवलशमशेर राणा र दुर्गा प्रसाईंले ‘जय नेपाल पार्टी’ गठन गर्ने घोषणा गरेपछि नेपाली कांग्रेसले त्यसप्रति आपत्ति जनाउँदै आयोगको ध्यानाकर्षण गराएको हो। प्रस्तावित दलले ‘जय नेपाल पार्टी’ नामबाट राजनीतिक दल दर्ता गर्ने तयारी अघि बढाएपछि कांग्रेसले आफ्नो ऐतिहासिक राजनीतिक पहिचानसँग जोडिएको उक्त शब्दावली अन्य दलले प्रयोग गर्न नहुने जिकिर गरेको छ।
कांग्रेसका अनुसार ‘जय नेपाल’ सामान्य अभिवादनको शब्द मात्र नभई नेपाली कांग्रेसको इतिहास, संघर्ष, संगठन र राजनीतिक पहिचानसँग लामो समयदेखि अभिन्न रूपमा जोडिएको शब्दावली हो। त्यसैले उक्त शब्दलाई अर्को राजनीतिक दलको नामका रूपमा स्वीकृति दिँदा नेपाली कांग्रेसको स्थापित पहिचान र राजनीतिक विरासतमा भ्रम तथा असर पर्न सक्ने भन्दै आयोगसमक्ष आपत्ति जनाइएको हो।
कांग्रेसले ‘जय नेपाल’ नाममा कुनै नयाँ राजनीतिक दल दर्ता नगर्न तथा उक्त शब्दावलीलाई राजनीतिक दलको नामका रूपमा प्रयोग गर्न अनुमति नदिन निर्वाचन आयोगसँग माग गरेको छ।
नेपाली कांग्रेसका का.बा. मुख्यसचिव कृष्णप्रसाद दुलालले हस्ताक्षर गरेको प्रतिरोध पत्र निर्वाचन आयोगमा पेश गरिएको हो। पत्रमार्फत प्रस्तावित दलको नामका सम्बन्धमा कांग्रेसको गम्भीर आपत्ति रहेको स्पष्ट पार्दै आयोगलाई आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया अपनाउन आग्रह गरिएको छ।
पछिल्लो समय निर्वाचन आयोगमा नयाँ राजनीतिक दल दर्ता हुने क्रम बढिरहेका बेला ‘जय नेपाल’ शब्दावलीलाई लिएर कांग्रेसले औपचारिक आपत्ति जनाएपछि यो विषय राजनीतिक पहिचान, दलको नामसम्बन्धी कानुनी व्यवस्था र ऐतिहासिक विरासतको अधिकारसँग जोडिएको बहस बनेको छ।
अब निर्वाचन आयोगले कांग्रेसले दर्ता गराएको प्रतिरोध पत्र, प्रस्तावित दलको नाम तथा राजनीतिक दलसम्बन्धी विद्यमान कानुनी व्यवस्थाको अध्ययन गरी ‘जय नेपाल पार्टी’ नाम दर्ताका सम्बन्धमा आवश्यक निर्णय गर्नेछ।