काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सञ्चालन गर्दै आएको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सोमबार थप विशेष बन्ने भएको छ। कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ सहभागी हुने भएका छन्।
रास्वपाका अनुसार सोमबार साँझ केन्द्रीय कार्यालयमा आयोजना हुने कार्यक्रममा गृहमन्त्री गुरुङले आम नागरिकसँग प्रत्यक्ष संवाद गर्नेछन्। कार्यक्रममा नागरिकले आफ्ना समस्या, गुनासा, सुझाव र अपेक्षा गृहमन्त्रीसमक्ष सिधै राख्न पाउनेछन्।
कार्यक्रमलाई दुई चरणमा सञ्चालन गरिनेछ। पहिलो चरणमा नागरिकले आफ्ना समस्या तथा सुझाव प्रत्यक्ष रूपमा गृहमन्त्री गुरुङसमक्ष प्रस्तुत गर्नेछन्। त्यसपछि दोस्रो चरणमा मन्त्री, सांसद तथा पार्टीको केन्द्रीय नेतृत्वबीच नागरिकबाट प्राप्त सुझावसहित समसामयिक र नीतिगत विषयमा छलफल गरिने रास्वपाले जनाएको छ।
रास्वपाले भदौ महिनादेखि सुरु गरेको यो कार्यक्रममार्फत नागरिकका आवाजलाई नीति निर्माणसँग जोड्ने प्रयास गरेको जनाएको छ। नागरिकबाट प्राप्त सुझावलाई सरकार तथा पार्टीको नीति निर्माण र त्यसको प्रभावकारी कार्यान्वयनमा समेट्ने उद्देश्य कार्यक्रमको रहेको पार्टीको भनाइ छ।
गृहमन्त्री गुरुङको सहभागिताले सोमबारको कार्यक्रमलाई अझ महत्वपूर्ण बनाउने र नागरिकले प्रत्यक्ष रूपमा सरकारका प्रतिनिधिसँग आफ्ना सवाल राख्ने अवसर पाउने रास्वपाले जनाएको छ।
अब हेर्न बाँकी छ-नागरिकका गुनासा र प्रश्नमा गृहमन्त्री गुरुङको जवाफ कस्तो आउँछ?