Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

नागढुंगा सुरुङमार्ग निजी सवारीका लागि खुला, अब काठमाडौं–धादिङ यात्रा सहज


८, भदौ २०८३
  • 103
    SHARES
  • नागढुंगा सुरुङमार्ग निजी सवारीका लागि खुला, अब काठमाडौं–धादिङ यात्रा सहज

    काठमाडौं । लामो प्रतीक्षापछि नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सोमबारदेखि निजी सवारी साधनका लागि समेत सञ्चालनमा आएको छ। करिब एक महिनाअघि उद्घाटन भए पनि यसअघि सुरुङमा आपतकालीन सवारीलाई मात्र प्रवेश दिइँदै आएको थियो।

    सोमबार बिहान ९ बजेदेखि ९ जनासम्म यात्रु क्षमता भएका कार, जीप, भ्यानलगायत निजी सवारी, एम्बुलेन्स, सरकारी सवारी तथा अन्य इमर्जेन्सी सवारीलाई सुरुङमार्फत काठमाडौं–धादिङ आउजाउ गर्न दिइएको नागढुंगा सुरुङमार्ग सुरक्षा युनिटका उपप्रमुख कविराज श्रेष्ठले जानकारी दिए।

    परीक्षणका रूपमा सञ्चालन

    सुरुङमार्गलाई तत्काल पूर्णरूपमा नियमित सञ्चालनमा ल्याउनुको सट्टा परीक्षणका रूपमा निजी सवारी प्रवेश खुला गरिएको हो। सुरक्षा युनिटका अनुसार यो साता सुरुङ प्रयोग गर्ने चालकको अनुभव, सवारी सञ्चालनमा देखिएका समस्या र सुरक्षासम्बन्धी विषयको अध्ययन गरिनेछ।

    श्रेष्ठका अनुसार अहिले बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सुरुङ सञ्चालन गरिनेछ। परीक्षण अवधिमा निजी सवारीसँग कुनै शुल्क नलिइने पनि उनले बताए।

    यससँगै सोमबार बिहानदेखि गुर्जुधारास्थित फ्लाइओभरको बाटोसमेत सञ्चालनमा आएको छ।

    सुरुङभित्र कडा नियम

    सुरुङभित्र सवारी सञ्चालनका लागि निश्चित सुरक्षा मापदण्ड तोकिएको छ। सवारी चालकले सुरुङभित्र ४० किलोमिटर प्रतिघण्टाभन्दा बढी गतिमा चलाउन नपाउने, हेडलाइट अनिवार्य बाल्नुपर्ने, सवारी रोक्न नपाउने र ओभरटेक गर्न नपाउने व्यवस्था गरिएको छ।

    सुरुङभित्र हुने गतिविधिलाई सीसीटीभीमार्फत निगरानी गरिनेछ। नियमित सञ्चालनका लागि सुरक्षा युनिट, शुल्क संकलन युनिटलगायत संरचनाको तयारीसमेत भइरहेको छ।

    तर सबै प्रकारका सवारीलाई भने सुरुङ प्रवेश दिइने छैन। पैदलयात्री, दुईपांग्रे सवारी तथा डिजेल, पेट्रोललगायत प्रज्वलनशील पदार्थ बोकेका सवारी सुरुङभित्र सञ्चालन गर्न पाइने छैन।

    नियमित सञ्चालनपछि शुल्क लाग्ने

    हाल परीक्षणका क्रममा निःशुल्क सञ्चालन गरिए पनि नियमित सञ्चालनमा आएपछि सवारीअनुसार शुल्क निर्धारण गरिएको छ।

    कार तथा भ्यानले काठमाडौं भित्रिँदा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ। मिनीबस तथा टिपरका लागि क्रमशः ११५ र ८० रुपैयाँ, बस तथा ट्रकका लागि २६० र २०० रुपैयाँ शुल्क तोकिएको छ।

    त्यस्तै हेभी ट्रकले काठमाडौं भित्रिँदा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ।

    सात वर्षपछि पूरा भएको महत्वपूर्ण आयोजना

    करिब २९ अर्ब रुपैयाँ लागतमा निर्माण भएको नागढुंगा सुरुङमार्ग नेपालको पहिलो व्यवस्थित यातायात सुरुङमार्ग हो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक ४ गते यसको शिलान्यास गरेका थिए।

    प्रारम्भिक सम्झौताअनुसार ४२ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि कोभिड–१९ महामारी, मुआब्जा विवादलगायत कारणले आयोजना निर्माणमा ढिलाइ भयो।

    शिलान्यासको करिब चार वर्षपछि २०८० साउन २२ गते आपतकालीन ‘रेस्क्यु टनेल’को ब्रेक थ्रु गरिएको थियो। त्यसको करिब १० महिनापछि मुख्य सुरुङको समेत ब्रेक थ्रु भयो। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८१ असार ३ गते मुख्य सुरुङको ब्रेक थ्रु गरेका थिए।

    मुख्य सुरुङ २.६८ किलोमिटर लामो छ भने आपतकालीन सुरुङको लम्बाइ २.५५७ किलोमिटर रहेको छ।

    जापानी सहयोगमा निर्माण

    आयोजना निर्माणका लागि जापान सरकारको करिब १६ अर्ब ५० करोड रुपैयाँ र नेपाल सरकारको ६ अर्ब रुपैयाँ लगानी गर्ने गरी सम्झौता भएको थियो। निर्माणका क्रममा लागत बढेपछि जापानले थप करिब ५ अर्ब रुपैयाँ ऋण सहायता उपलब्ध गराएको थियो।

    आयोजनाको निर्माण ठेक्का जापानको हाज्मा आन्दो कर्पोरेसनले लिएको थियो।

    अब निजी सवारीका लागि समेत सुरुङमार्ग खुला भएसँगै नागढुंगा क्षेत्रमा हुने लामो जामबाट यात्रुले राहत पाउने अपेक्षा गरिएको छ। परीक्षणपछि अन्य सवारीलाई पनि क्रमशः सुरुङमार्गमा प्रवेश दिने तयारी भइरहेको छ।

    नेपालको यातायात पूर्वाधारमा नयाँ अध्यायका रूपमा हेरिएको नागढुंगा सुरुङमार्ग अब परीक्षणबाट नियमित सञ्चालनतर्फ अघि बढेको छ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend