काठमाडौं । वैदिक सनातन धर्मावलम्बीको महत्वपूर्ण पर्व जनैपूर्णिमा आज देशभर श्रद्धा, आस्था र उल्लासका साथ मनाइँदैछ। बिहानैदेखि नदी, ताल, तलाउ, पोखरी तथा विभिन्न तीर्थस्थलमा स्नान गरी नयाँ जनै (यज्ञोपवीत) धारण गर्ने, गुरु–पुरोहितबाट रक्षासूत्र बाँध्ने तथा ऋषिहरूको तर्पण गर्ने भक्तजनको भीड लागेको छ।
जनैपूर्णिमालाई ऋषितर्पणी, रक्षाबन्धन तथा क्वाँटी पूर्णिमाका रूपमा समेत मनाउने गरिन्छ। धार्मिक परम्पराअनुसार तागाधारी समुदायले विधिपूर्वक मन्त्रिएको नयाँ यज्ञोपवीत धारण गर्छन् भने गुरु–पुरोहितले वैदिक मन्त्र उच्चारण गर्दै यजमानको दाहिने नाडीमा रक्षासूत्र अर्थात् डोरो बाँधिदिने प्रचलन छ। मन्त्रिएको रक्षासूत्र धारण गरे नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास रहँदै आएको छ।
जनैपूर्णिमाको अवसरमा ब्राह्मण, क्षेत्री र वैश्य समुदायका तागाधारीले पुरानो जनै फेरेर नयाँ यज्ञोपवीत धारण गर्ने विधान छ। यसअघि उनीहरूले चोखोनीतो गरी व्रत बस्ने र पूर्णिमाका दिन बिहानै तीर्थस्थलमा पुगेर स्नान गर्ने परम्परा छ।
स्नानपछि जौ, तिल र कुशद्वारा ऋषिहरूलाई तर्पण दिइन्छ। कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिको पूजा तथा तर्पण गरिने भएकाले यस पर्वलाई ऋषितर्पणी पनि भनिन्छ। वैदिक गुरु परम्परामा यज्ञोपवीतलाई ब्रह्मसूत्र तथा ज्ञानको धागोका रूपमा समेत लिइन्छ।
राजधानी काठमाडौंमा पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोकविनायकलगायत वाग्मती नदी किनार तथा विभिन्न मठमन्दिरमा बिहानैदेखि भक्तजनको चहलपहल बढेको छ। देशका प्रमुख धार्मिक तथा तीर्थस्थलमा पनि जनै फेर्ने र रक्षासूत्र बाँध्ने श्रद्धालुको उपस्थिति बाक्लो छ।
जनैपूर्णिमासँगै आज क्वाँटी खाने परम्परा पनि रहेको छ। विभिन्न प्रकारका गेडागुडी मिसाएर भिजाई टुसा उमारेर तयार पारिने क्वाँटीलाई वर्षायाममा शरीरलाई न्यानो राख्ने र स्वास्थ्यका दृष्टिले उपयोगी मानिन्छ। धार्मिक तथा आयुर्वेदिक मान्यताअनुसार क्वाँटी सेवनले शरीरमा रोग प्रतिरोधी क्षमता बढाउन तथा पाचन प्रणालीलाई सहज बनाउन सहयोग गर्ने विश्वास छ।
तराई क्षेत्रमा भने जनैपूर्णिमालाई रक्षाबन्धनका रूपमा विशेष महत्वका साथ मनाइन्छ। दिदीबहिनीले दाजुभाइको हातमा राखी बाँधेर दीर्घायु, सुख–समृद्धि र सुरक्षाको कामना गर्छन्। यसले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, आत्मीयता र पारिवारिक सम्बन्ध अझ प्रगाढ बनाउने सामाजिक विश्वास छ। पछिल्ला वर्षमा राखी बाँध्ने चलन पहाडी तथा हिमाली क्षेत्रमा पनि विस्तार हुँदै गएको छ।
जनैपूर्णिमाको अवसरमा देशका विभिन्न धार्मिक तथा पर्यटकीय तीर्थस्थलमा विशेष मेला समेत लाग्ने गर्दछ। काठमाडौंको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गंगासागर, जुम्लाको दानसाधु तथा नवलपरासीको त्रिवेणीधामलगायतका स्थानमा बिहानैदेखि स्नान तथा पूजाआजाका लागि श्रद्धालुको घुइँचो लागेको छ।
धार्मिक आस्था, पारिवारिक आत्मीयता र नेपाली मौलिक संस्कृतिलाई जोड्ने पर्वका रूपमा जनैपूर्णिमाले वैदिक परम्परादेखि सामाजिक सद्भावसम्मको सन्देश बोकेको छ। जनै परिवर्तन, रक्षासूत्र धारण, ऋषि तर्पणदेखि दाजुभाइ–दिदीबहिनीबीच राखी बाँध्ने परम्परासम्मले यस पर्वलाई धार्मिकसँगै सामाजिक र सांस्कृतिक रूपमा पनि विशेष बनाएको छ।