काठमाडौं । रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रेले आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ।
कांग्रेस काभ्रेका जिल्ला सभापति तीर्थ लामाको सभापतित्वमा बसेको बैठकले बाढीपीडितका लागि खाद्यान्न, आवास, कपडालगायत आवश्यक राहत व्यवस्थापन गर्न आर्थिक सहयोग जुटाउने निर्णय गरेको हो।
अभियानअन्तर्गत कांग्रेस काभ्रेका विभिन्न तहमा जिम्मेवारीमा रहेका नेता तथा कार्यकर्ताले सहयोग संकलन गरिरहेका छन्। विपद्का बेला राज्य र नागरिकमाथि परेको संकटमा सबैले एकजुट भएर साथ दिनुपर्ने भन्दै सभापति लामाले नेता, कार्यकर्ता तथा क्रियाशील सदस्यलाई अभियानमा सहभागी हुन आह्वान गरेका छन्।
सभापति लामाका अनुसार अभियानबाट हालसम्म ११ लाख रुपैयाँ आर्थिक सहयोग संकलन भइसकेको छ। संकलित रकम आगामी भदौ १५ गते नेपाली कांग्रेस केन्द्रीय कार्यालय, सानेपा, ललितपुरस्थित विपद् कोषमा हस्तान्तरण गरिनेछ।
कांग्रेस काभ्रेले उक्त रकम भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा प्रयोग गर्ने जनाएको छ।
बाढीका कारण ठूलो जनधनको क्षति भइरहेका बेला राजनीतिक दल तथा विभिन्न संघसंस्थाबाट राहत र पुनःस्थापनाका लागि सहयोग जुटाउने क्रम बढिरहेको छ। कांग्रेस काभ्रेको यो अभियानले तत्काल राहतसँगै विपद्पछिको पुनःस्थापनामा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।