काठमाडौं । भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि बेपत्ता नागरिकको खोजी तथा शव व्यवस्थापनलाई तीव्र बनाउन सरकारले रसुवादेखि चितवनसम्म थप १ हजार २ सय सैनिक जनशक्ति परिचालन गरेको छ।
खोजी तथा शव संकलनमा ढिलाइ भएको भन्दै जनस्तरबाट गुनासो बढेपछि प्रधानमन्त्रीको सचिवालयको समन्वयमा नेपाली सेनाले नदी तटीय क्षेत्रमा विशेष अभियान सञ्चालन गरेको हो। बाढीको तीव्र बहावले शव तथा बेपत्ता नागरिकलाई तल्लो तटीय क्षेत्रमा बगाएर लगेको हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै खोजी अभियानलाई व्यापक बनाइएको छ।
यसअघि प्रभावित नागरिकको उद्धार, राहत तथा अस्थायी व्यवस्थापनमा १ हजार ६ सय सैनिक परिचालन गरिएको थियो। थप १ हजार २ सय जनशक्ति परिचालन गरिएसँगै बाढी प्रभावित तथा नदी तटीय क्षेत्रमा परिचालित सैनिकको संख्या २ हजार ८ सय पुगेको छ।
सेनाका टोलीले रसुवादेखि चितवनसम्म त्रिशूली तथा नारायणी नदी किनारका सम्भावित स्थानमा खोजी अभियान सञ्चालन गरिरहेका छन्। विशेषगरी नदीको किनार, खोँच, पुल आसपास तथा बाढीले बगाएर ल्याउन सक्ने सम्भावित स्थानलाई प्राथमिकतामा राखिएको छ।
बेपत्ताको खोजी र शव व्यवस्थापन पहिलो प्राथमिकता
कठिन भौगोलिक अवस्था, नदीको तीव्र बहाव र बाढीले क्षतिग्रस्त संरचनाका कारण खोजी अभियान चुनौतीपूर्ण बनेको छ। जोखिमका बाबजुद सैनिक टोलीले सम्भावित सबै स्थानमा बेपत्ताको खोजी, शव संकलन तथा व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बाढीपछि ठूलो संख्यामा नागरिक बेपत्ता भएकाले उनीहरूको अवस्था पत्ता लगाउनु अहिलेको प्रमुख चुनौती बनेको छ। नदीको बहावसँगै शवहरू टाढासम्म पुग्न सक्ने भएकाले खोजीलाई एउटै क्षेत्रमा सीमित नगरी रसुवादेखि चितवनसम्म नदीको तटीय क्षेत्रमा विस्तार गरिएको हो।
प्रधानमन्त्रीको सचिवालयका अनुसार सैनिक टोलीले खोजी तथा उद्धारसँगै प्रभावित नागरिकको राहत र सुरक्षित स्थानान्तरणमा समेत निरन्तर सहयोग गरिरहेको छ।
विनाशकारी बाढीपछि आफन्तको खोजीमा रहेका परिवारलाई आशा जगाउने गरी सरकारले नदीको तल्लो तटीय क्षेत्रसम्म खोजी अभियान विस्तार गरेको छ। अबको प्राथमिकता—बेपत्ताको अवस्था पत्ता लगाउने, शवको पहिचान तथा व्यवस्थापन गर्ने र प्रभावित नागरिकलाई आवश्यक राहत तथा सुरक्षा उपलब्ध गराउने रहेको छ।