काठमाडौं । भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीले नेपालमा ठूलो जनधनको क्षति पुर्याएपछि भारतले उद्धार, राहत र पुनःस्थापनाका लागि सहयोग थप विस्तार गरेको छ।
नेपालका बाढी प्रभावित क्षेत्रमा मानवीय सहायता बढाउँदै भारतले राहत सामग्रीसहित खोज तथा उद्धारमा दक्ष टोली, मेडिकल जनशक्ति र सुरुङ उद्धारका लागि विशेष प्राविधिक टोली परिचालन गर्ने तयारी गरेको छ। सडक तथा सम्पर्क सञ्जाल पुनःस्थापनाका लागि बेली ब्रिजसमेत उपलब्ध गराउने भारतको तयारी छ।
भारतीय विदेश मन्त्रालयका अनुसार हालसम्म भारतीय वायुसेनाका तीन विमानमार्फत ५७.५ टन राहत सामग्री नेपाल ल्याइसकिएको छ। थप राहत सामग्रीसहित चौथो विमान काठमाडौं पठाउने तयारी भइरहेको छ।
मोदीदेखि जयशंकरसम्मको समन्वय
बाढीपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अगस्ट २६ मै नेपालका प्रधानमन्त्रीसँग टेलिफोन वार्ता गर्दै घटनाप्रति दुःख व्यक्त गरेका थिए। उनले विपद्को यस घडीमा भारत नेपालसँग ऐक्यबद्ध रहेको र आवश्यक मानवीय सहायता उपलब्ध गराउन तयार रहेको बताएका थिए। त्यसको दुई दिनपछि भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालका परराष्ट्रमन्त्रीसँग कुराकानी गरी उद्धार तथा राहत अभियानबारे छलफल गरेका थिए। भारतले नेपालमा रहेका आफ्ना नागरिकको उद्धार र खोजीका लागि नेपाली अधिकारीसँग निरन्तर समन्वय गरिरहेको जनाएको छ।
नेपालमा रहेका भारतीय नागरिकको उद्धार तीव्र
बाढी प्रभावित क्षेत्रबाट १०८ जना भारतीय नागरिकको उद्धार गरिएको भारतको विदेश मन्त्रालयले जनाएको छ। यसअघि सम्पर्कविहीन रहेका करिब ५० जना भारतीय नागरिकसँग पुनः सम्पर्क स्थापित भएको पनि मन्त्रालयको भनाइ छ।
चीनतर्फ रहेका भारतीय नागरिकको उद्धारमा पनि भारतले सक्रियता बढाएको छ। चिनियाँ स्थानीय सरकारी स्रोतका अनुसार पछिल्लो दुई दिनमा ५९८ जना भारतीय नागरिक चीनबाट सुरक्षित रूपमा नेपाल प्रवेश गरेका छन्।
भारतका अनुसार चीनमा अझै करिब ९०० जना भारतीय नागरिक सुरक्षित अवस्थामा सम्पर्कमा छन्। यद्यपि नेपाल र चीन दुवैतर्फ गरी २७५ भन्दा बढी भारतीय नागरिक तथा भारतीय मूलका १२८ जना व्यक्ति अझै बेपत्ता वा सम्पर्कविहीन रहेको मन्त्रालयले जनाएको छ।
चौबीसै घण्टा सञ्चालनमा नियन्त्रण कक्ष
बाढी प्रभावित भारतीय नागरिकको खोज तथा उद्धारलाई व्यवस्थित बनाउन भारतले चौबीसै घण्टा सञ्चालन हुने नियन्त्रण कक्ष स्थापना गरेको छ। काठमाडौंस्थित भारतीय दूतावास र बेइजिङस्थित भारतीय दूतावासमा समेत २४ घण्टा हेल्पलाइन सञ्चालन गरिएको छ। उद्धार गरिएका नागरिकको स्वास्थ्य तथा सुरक्षाको निगरानीसँगै आवश्यकताअनुसार उनीहरूलाई भारत फर्काउने व्यवस्था भइरहेको भारतले जनाएको छ। कैलाश मानसरोवर यात्राबाट नेपाल हुँदै भारत फर्किरहेका भारतीय नागरिकको आवागमनलाई समेत दूतावासहरूले सहजीकरण गरिरहेका छन्।
तीन विमानबाट ५७.५ टन राहत
नेपाललाई तत्काल मानवीय सहायता उपलब्ध गराउने क्रममा भारतीय वायुसेनाले तीनवटा उडानमार्फत ५७.५ टन राहत सामग्री ल्याएको छ। अगस्ट २६ मा सी–१३० जे हर्कुलिस विमानमार्फत १० टन आपत्कालीन सामग्री नेपाल ल्याइएको थियो। त्यसमा अस्थायी आश्रयस्थल, कम्बल, सरसफाइ सामग्री, सौर्य बत्ती र औषधि थिए। अगस्ट २७ मा सी–१७ ग्लोबमास्टर विमानमार्फत थप ३७.५ टन सामग्री ल्याइएको थियो। त्यसमा पाल, कम्बल, सरसफाइ सामग्री, सौर्य बत्ती, पानी निकाल्ने पम्प, भान्साका सामग्री र जेनेरेटरलगायत थिए। यसैगरी ८ टन औषधि र १ टन खाद्य सामग्रीसमेत पठाइएको भारतले जनाएको छ।
सुरुङ उद्धारमा भारतीय सेनाको प्राविधिक सहयोग
बाढीका कारण सुरुङभित्र फसेकाको उद्धारका लागि भारतले आफ्नो सेनाको प्राविधिक टोलीसमेत नेपाल पठाएको छ। अगस्ट २८ मा सी–१३० जे हर्कुलिस विमानमार्फत ५ सदस्यीय सुरुङ उद्धार रेकी टोली र ६ सदस्यीय मेडिकल टोली नेपाल ल्याइएको थियो। टोलीले घटनास्थलको अध्ययन गरी सुरुङ उद्धारका लागि आवश्यक प्राविधिक मूल्यांकन गरिसकेको भारतको भनाइ छ।
अब चौथो उडानमार्फत १३ सदस्यीय भारतीय सेना सुरुङ उद्धार टोली विशेष उपकरणसहित नेपाल पठाउने तयारी भइरहेको छ। उक्त टोलीले नेपाली विपद् प्रतिकार्य टोलीसँग समन्वय गरी जारी खोज तथा उद्धार अभियानमा सहयोग गर्नेछ। बेपत्ताको पहिचानमा डीएनए टोली बाढीपछि बेपत्ता तथा मृतकको पहिचानका लागि भारतले फरेन्सिक सहयोगसमेत उपलब्ध गराउने भएको छ।
भारतका अनुसार ६ वटा फरेन्सिक टोलीमा आबद्ध १९ सदस्यीय विशेषज्ञ टोली नेपाल पठाउने तयारी गरिएको छ। टोलीले डीएनए नमुना विश्लेषण तथा पहिचान प्रक्रियामा सहयोग गर्नेछ। सम्पर्क टुटेका क्षेत्रमा बेली ब्रिज बाढीबाट क्षतिग्रस्त सडक तथा सम्पर्क सञ्जाल पुनःस्थापनालाई पनि भारतले प्राथमिकतामा राखेको छ।
यसका लागि आवश्यकताअनुसार बेली ब्रिजसहित प्राविधिक टोली नेपाल पठाउने तयारी गरिएको छ। भारतका अनुसार एउटा बेली ब्रिज यसअघि नै नेपाल ल्याइसकिएको छ र आवश्यकता परेको स्थानमा जडान गर्न सकिने अवस्थामा राखिएको छ।
‘कठिन घडीमा नेपालसँगै छौँ’
भारतले नेपालसँगको सम्बन्धलाई विशेष र निकट सम्बन्धका रूपमा व्याख्या गर्दै विपद्को यस कठिन समयमा आवश्यक सबै प्रकारको सहयोग जारी राख्ने प्रतिबद्धता जनाएको छ। बाढीमा भारतीय नागरिकले समेत ज्यान गुमाएकाले घटनाबाट भएको क्षतिप्रति भारतीय जनता पनि दुःखी रहेको विदेश मन्त्रालयले जनाएको छ। उद्धार र राहतसँगै अब पुनःस्थापनाको चुनौती थपिँदै जाँदा भारतको सहयोगमा राहत सामग्री, उद्धार विशेषज्ञ, मेडिकल टोली, फरेन्सिक जनशक्ति र पूर्वाधार सहयोगसमेत जोडिएको छ।
यसले भोटेकोशी बाढीपछि नेपालमा जारी उद्धार अभियानलाई तत्काल राहतसँगै सम्पर्क पुनःस्थापना र पीडितको पहिचानसम्म विस्तार गर्ने बहुआयामिक सहयोगको रूप लिएको देखिएको छ।