काठमाडौं। भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका लागि नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ।
बाढी तथा प्राकृतिक विपद्का कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवनलगायतका जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति पुगेको अवस्थामा बैंकले प्रभावित नागरिकलाई तत्काल राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरेको जनाएको छ।
विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिकको साथमा रहेको सन्देश दिँदै बैंकले सरकार तथा सम्बन्धित निकायमार्फत सञ्चालन भइरहेका खोजी, उद्धार, राहत र पुनःस्थापनाका कार्यमा आफ्नो संस्थागत ऐक्यबद्धता जनाएको छ।
बैंकका अनुसार प्राकृतिक विपद्का कारण नागरिकको जनजीवन गम्भीर रूपमा प्रभावित भइरहेका बेला निजी क्षेत्रबाट हुने आर्थिक तथा मानवीय सहयोगले उद्धार र राहत कार्यलाई थप प्रभावकारी बनाउन योगदान पुर्याउनेछ।
एनआईएमबीले बाढीमा परी ज्यान गुमाएका नागरिकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, विपद्बाट प्रभावित नागरिकको शीघ्र उद्धार, राहत तथा पुनःस्थापनाका लागि आवश्यक सहयोग जारी राख्ने प्रतिबद्धता जनाएको छ।