काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले भोटेकोसी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकका लागि संकलन गरेको राहत सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरेको छ।
चेम्बरका वरिष्ठ उपाध्यक्ष तथा विपद् व्यवस्थापन परिषद्का सभापति दीपककुमार मल्होत्राको नेतृत्वमा चेम्बर प्रतिनिधिहरूले आइतबार नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्र, सामाखुसी पुगेर राहत सामग्री हस्तान्तरण गरेका हुन्। युथ चेम्बरमार्फत संकलित सामग्रीसमेत समावेश गरी जिल्ला प्रशासन कार्यालय, काठमाडौंलाई उक्त राहत हस्तान्तरण गरिएको चेम्बरले जनाएको छ।
बाढी प्रभावित नागरिकको तत्कालीन आवश्यकतालाई ध्यानमा राख्दै चेम्बरले खाद्यान्न, स्वास्थ्य तथा व्यक्तिगत सरसफाइका सामग्रीसहित विभिन्न प्रकारका राहत सामग्री संकलन गरेको हो।
हस्तान्तरण गरिएको राहत सामग्रीमा चिउरा ३४ बोरा, कोदोको बिस्कुट ८० कार्टुन, मकै मह बिस्कुट ८३ कार्टुन, चोको चिप्स बिस्कुट ८७ कार्टुन, सेनिटरी प्याड १० कार्टुन, टुथपेस्ट १ कार्टुन, टुथब्रस २ कार्टुन, पञ्जा तथा मास्क ३ कार्टुन रहेका छन्।
त्यस्तै, विभिन्न प्रकारका टिसर्ट, दाल, नुनलगायतका सामग्रीसमेत हस्तान्तरण गरिएको छ। ‘आक्र्स फुड’ लेखिएको टिसर्ट १ बोरा ७३ थान तथा अन्य टिसर्ट २ बोरा गरी २५० थान पनि राहत सामग्रीमा समावेश छन्। दाल १० किलोसमेत उपलब्ध गराइएको चेम्बरले जनाएको छ।
लियो डिस्ट्रिक्टसँग सहकार्य
बाढी प्रभावितका लागि नेपाल चेम्बर अफ कमर्स र लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ जी, नेपालले समेत सहकार्य गरेका छन्। सहकार्यअन्तर्गत खानेपानी, चाउचाउ, बिस्कुट, टुथपेस्ट, टुथब्रस, साबुन, डायपर, डसना, औषधि, सेनिटरी प्याड, चामल, कपडा तथा ग्लोभ्सलगायतका सामग्री हस्तान्तरण गरिएको छ।
राहत हस्तान्तरण कार्यक्रममा चेम्बरका कार्यसमिति सदस्यहरू कृष्णमान श्रेष्ठ, रोशन भोयद्यो र रुजुल श्रेष्ठलगायतको उपस्थिति थियो।
भारतबाट ५०० सोलार पावर बैंक ल्याइँदै
बाढी प्रभावित क्षेत्रमा विद्युत् तथा सञ्चारसम्बन्धी समस्या हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै चेम्बरले भारतबाट ५०० थान सोलार पावर बैंक मगाउने व्यवस्था समेत गरेको जनाएको छ।
चेम्बरले विपद्को समयमा निजी क्षेत्रको सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै सरकारसँग सहकार्य गरी उद्धार, राहत तथा पुनःस्थापनाका काममा सहयोग गर्दै आएको जनाएको छ।
बाढी प्रभावित नागरिकलाई तत्काल आवश्यक पर्ने खाद्यान्न, कपडा तथा स्वास्थ्यजन्य सामग्री उपलब्ध गराउने उद्देश्यले सदस्य तथा व्यवसायीहरूबाट राहत संकलन गरिएको र आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिइने चेम्बरको भनाइ छ।
विपद्को घडीमा सरकारसँग निजी क्षेत्रको सहकार्य र व्यवसायी समुदायको सामाजिक उत्तरदायित्वले राहत तथा पुनःस्थापनाको अभियानलाई थप प्रभावकारी बनाउन सक्ने अपेक्षा गरिएको छ।