काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा त्यसबाट सिर्जित मानवीय संकटमा सहयोग पुर्याउन अस्ट्रेलिया सरकारले उद्धार तथा मानवीय सहायता सामग्रीसहितको विशेष विमान नेपाल पठाउने भएको छ।
अस्ट्रेलियाली रक्षा मन्त्रालयका अनुसार रोयल अस्ट्रेलियन एयर फोर्स (RAAF) को सी–१७ए ग्लोबमास्टर–३ विमानमार्फत नेपालका बाढी प्रभावित क्षेत्रमा आवश्यक पर्ने राहत सामग्री, उद्धार उपकरण र जनशक्ति पठाउन लागिएको हो।
नेपालले बेहोरिरहेको विपद्मा सिङ्गो अस्ट्रेलिया सरकारको साझा प्रतिकार्य अन्तर्गत उक्त सहयोग उपलब्ध गराउन लागिएको अस्ट्रेलियाली विदेश मन्त्रालयले जनाएको छ। विपद्को समयमा नेपाललाई आवश्यक मानवीय सहायता उपलब्ध गराउने उद्देश्यले विभिन्न सरकारी निकायबीच समन्वय गरेर सहयोग अघि बढाइएको हो।
अस्ट्रेलियाली रक्षा बलले त्यहाँको परराष्ट्र तथा व्यापार मन्त्रालयलाई सहयोग गर्दै राहत सामग्री तथा उद्धार उपकरण ढुवानीका लागि सी–१७ए ग्लोबमास्टर–३ विमान उपलब्ध गराएको छ। ठूलो परिमाणमा सामग्री तथा आवश्यक जनशक्ति एकैपटक ढुवानी गर्न सक्ने क्षमताका कारण उक्त विमान प्रयोग गर्न लागिएको हो।
अस्ट्रेलियाली रक्षा मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार मानवीय सहायता, विपद् राहत सामग्री, आवश्यक उद्धार उपकरण र जनशक्ति बोकेको विमान केही दिनभित्रै अस्ट्रेलियाबाट नेपालतर्फ प्रस्थान गर्नेछ।
नेपालमा बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भइरहेका बेला विभिन्न मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय साझेदारबाट उद्धार, राहत र पुनःस्थापनाका लागि सहयोग प्राप्त भइरहेको छ। अस्ट्रेलियाको यो सहयोगले विपद् प्रभावित क्षेत्रमा तत्काल आवश्यक पर्ने उद्धार तथा मानवीय सहायता परिचालनमा थप मद्दत पुग्ने अपेक्षा गरिएको छ।