काठमाडौँ। भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट भएको क्षतिको प्रारम्भिक बीमा दाबी २५ अर्ब ८७ करोड ३५ लाख ७९ हजार रुपैयाँ पुगेको छ। नेपाल बीमा प्राधिकरणका अनुसार भदौ १५ गतेसम्म १५ वटा बीमा कम्पनीमा गरी ५८३ वटा बीमा दाबी परेको हो।
प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार सबैभन्दा ठूलो रकमको प्रारम्भिक दाबी द ओरिएन्टल इन्स्योरेन्समा परेको छ। उक्त कम्पनीमा ८ वटा दाबीमार्फत मात्रै १३ अर्ब ४ करोड २१ लाख २६ हजार रुपैयाँ बराबरको प्रारम्भिक दाबी परेको छ।
त्यस्तै, युनाइटेड अजोड इन्स्योरेन्समा ३८ वटा दाबीबाट ४ अर्ब ९७ करोड ४८ लाख ७२ हजार रुपैयाँ र सानिमा जिआईसीमा १०२ वटा दाबीबाट २ अर्ब १० करोड २८ लाख ७२ हजार रुपैयाँ बराबरको प्रारम्भिक बीमा दाबी परेको छ।
बीमालेखको प्रकार हेर्दा सबैभन्दा ठूलो क्षति इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमातर्फ देखिएको छ। यसअन्तर्गत ५२ वटा दाबीबाट मात्रै २० अर्ब ५० करोड ७७ लाख ९० हजार रुपैयाँको प्रारम्भिक दाबी परेको प्राधिकरणले जनाएको छ।
त्यसैगरी, सम्पत्ति बीमामा ११३ वटा दाबीबाट २ अर्ब ३४ करोड ६२ लाख २० हजार रुपैयाँ, मोटर बीमामा ३१३ वटा दाबीबाट १ अर्ब ५५ करोड ९ लाख ३९ हजार रुपैयाँ र परिवहन बीमामा ४७ वटा दाबीबाट ८९ करोड ७७ लाख ३७ हजार रुपैयाँको प्रारम्भिक दाबी परेको छ।
बाढीबाट जलविद्युत् आयोजना, पूर्वाधार, उद्योग, सवारीसाधन तथा सम्पत्तिमा ठूलो क्षति पुगेपछि बीमा दाबीको रकम उल्लेख्य रूपमा बढेको हो। यद्यपि, यी रकमहरू प्रारम्भिक दाबी भएकाले क्षतिको विस्तृत मूल्याङ्कन तथा बीमा कम्पनीहरूको दाबी परीक्षणपछि वास्तविक भुक्तानी रकम फरक पर्न सक्नेछ।
भोटेकोशी–त्रिशूली बाढीले पुर्याएको आर्थिक क्षतिको आकारसँगै बीमा क्षेत्रमाथि परेको दायित्वसमेत ठूलो बनेको छ। अब बीमा कम्पनीहरूले क्षतिको मूल्याङ्कन, दाबी प्रमाणीकरण र भुक्तानी प्रक्रियालाई कति छिटो अघि बढाउँछन् भन्ने विषय प्रभावित व्यक्ति तथा व्यवसायका लागि महत्वपूर्ण बनेको छ।