काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज (बुधबार) दिउँसो १ बजे बस्दैछ। बैठकमा प्रधानमन्त्री बालेन शाहले हालैको बाढीबाट भएको जनधनको क्षति, खोजी तथा उद्धार कार्य र सरकारले अघि बढाइरहेको राहत तथा पुनःस्थापनाका प्रयासबारे संसद्लाई जानकारी गराउने भएका छन्।
सभामुख डोलप्रसाद अर्यालको सचिवालयका अनुसार बैठकको सुरुमै प्रधानमन्त्री शाहले बाढी तथा विपद्पछिको समग्र अवस्थाबारे प्रतिनिधिसभालाई जानकारी गराउने कार्यक्रम तय भएको छ। उनले प्रभावित क्षेत्रको अवस्था, उद्धार तथा राहतमा सरकारको भूमिका र आगामी पुनःस्थापनाका योजनाबारे धारणा राख्ने अपेक्षा गरिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले पनि प्रधानमन्त्रीले प्रतिनिधिसभालाई सम्बोधन गर्ने कार्यक्रम निश्चित भएको जानकारी दिएका छन्।
प्रधानमन्त्रीको सम्बोधनपछि प्रतिनिधिसभामा राजनीतिक दलका नेताहरूले दलीय आधारमा विपद्को अवस्थाबारे धारणा राख्नेछन्। उनीहरूले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत वितरण, पुनःस्थापना तथा आगामी दिनमा यस्ता विपद् न्यूनीकरणका लागि सरकारले चाल्नुपर्ने कदमबारे आफ्ना धारणा राख्ने तयारी छ।
त्यसपछि सभामुख अर्यालले बाढीपछिको विपद्सम्बन्धी विशेष प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। प्रतिनिधिसभाको आजको बैठकलाई पछिल्लो प्राकृतिक विपद्बारे सरकारको जवाफदेहिता र संसद्को साझा धारणा निर्माण गर्ने महत्वपूर्ण बैठकका रूपमा हेरिएको छ।