काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई सरकारले सम्मानजनक र निष्पक्ष ढंगले राहत वितरण गर्नुपर्ने बताएका छन्।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै आङ्देम्बेले विपद्मा परेका नागरिकलाई राहत वितरण गर्दा पहुँच र प्रभावलाई आधार नबनाई वास्तविक आवश्यकतालाई प्राथमिकता दिन सरकारसँग आग्रह गरे।
उनले स्पष्ट रूपमा भने, ‘राहत पहुँचको आधारमा होइन, आवश्यकताको आधारमा होस्।’
आङ्देम्बेका अनुसार विपद्बाट वास्तविक रूपमा प्रभावित परिवारको अवस्था र आवश्यकता सबैभन्दा राम्रोसँग स्थानीय तहलाई थाहा हुन्छ। त्यसैले राहत वितरणको जिम्मेवारी स्थानीय तहलाई प्रभावकारी रूपमा दिनुपर्ने उनको भनाइ छ।
उनले राहत वितरणमा पारदर्शिता र निष्पक्षता कायम गर्दै वास्तविक पीडित नागरिकसम्म राज्यको सहयोग पुग्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए।