सडक अवरुद्धको बहाना कहिलेसम्म ? वैकल्पिक आपूर्ति भनिए पनि चुल्हो बाल्न ग्यासको हाहाकार
काठमाडौं । राजधानी काठमाडौंमा एउटा परिवारको चुल्हो बाल्न आवश्यक पर्ने एक सिलिण्डर एलपी ग्यास पाउन सर्वसाधारणले २३ घण्टासम्म लाइनमा बस्नुपर्ने अवस्था सिर्जना भएको छ।
बालाजुस्थित नेपाल ग्यासको वितरण केन्द्रमा रित्तो सिलिण्डर बोकेका उपभोक्ताको लामो लाइन लागेको छ। घाम, पानी, धुलो र चिसोको समेत प्रवाह नगरी उपभोक्ताहरू ग्यास आउने आशामा घण्टौँदेखि सडकमा पालो कुरिरहेका छन्।
बालाजु चोकदेखि (औद्योगिक क्षेत्र मा रहेको नेपाल ग्यास उद्योग) बालाजु प्रहरी बृत करिब आधा किलोमिटर लामो लाइन देखिएको छ। लाइनमा वृद्धवृद्धादेखि महिला र सर्वसाधारणसम्म छन्। कतिपय उपभोक्ताको गुनासो छ-दिनरात लाइनमा बस्दा पनि हातमा ग्यास परेको छैन।
‘एक सिलिण्डरका लागि यति ठूलो सास्ती किन ?’
ग्यास लिन आएका उपभोक्ताको एउटै प्रश्न छ-आधारभूत आवश्यकताको वस्तुका लागि नागरिकले यति ठूलो सास्ती कहिलेसम्म खेप्ने ?
एक उपभोक्ताले भने, ‘२३ घण्टासम्म लाइनमा बस्दा पनि ग्यास पाइएन। घरमा चुल्हो कसरी बाल्ने ? सरकारलाई हाम्रो समस्या देखिँदैन ?’
अर्का उपभोक्ताको प्रश्न अझ गम्भीर छ-‘ग्यास किन्न पैसा छ, सिलिण्डर छ, तर ग्यास पाउन लाइनमा रात बिताउनुपर्छ। यो कस्तो आपूर्ति व्यवस्था हो ?’ कृष्णभिरमा सडक कटान, काठमाडौंमा ग्यासको हाहाकार
काठमाडौंमा देखिएको ग्यास संकटको मुख्य कारण पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिर क्षेत्रमा बाढीले सडक कटान गरेपछि सिर्जना भएको आपूर्ति अवरोधलाई मानिएको छ।
काठमाडौं उपत्यकामा ग्यास बोकेर आउने ठूला बुलेट ट्रकहरू नियमित रूपमा भित्रिन नसक्दा आपूर्ति शृङ्खला प्रभावित भएको हो।
नेपाल आयल निगमले भारतबाट ग्यास आयातमा कमी नभएको बताए पनि काठमाडौंसम्म ग्यास ल्याउने सडक अवरुद्ध हुँदा उपभोक्तासम्म आपूर्ति पुर्याउन समस्या भएको जनाएको छ।
तर नागरिकको प्रश्न छ-समस्या सडकमा आएको हो भने वैकल्पिक बाटो र वितरण प्रणालीलाई प्रभावकारी बनाउन सरकार किन अझै असफल भइरहेको छ ?
वैकल्पिक व्यवस्था गरियो, तर लाइन घटेन
समस्या समाधानका लागि काठमाडौं बाहिर रहेका चितवन, बारा र पर्सालगायतका प्लान्टबाट सिलिण्डर भरेर काठमाडौं ल्याउने वैकल्पिक व्यवस्था गरिएको बताइएको छ।
बाबा ग्यास, नेपाल ग्यास गण्डकीलगायतका उद्योगबाट हजारौँ सिलिण्डर काठमाडौं ल्याएर वितरण गर्ने प्रयास भइरहेको छ। तर दैनिक मागअनुसार आपूर्ति हुन नसक्दा वितरण केन्द्रमा उपभोक्ताको भीड र लाइन कायमै छ।
अर्थात्, वैकल्पिक व्यवस्था सुरु भएको भनिए पनि त्यसको प्रभाव नागरिकको चुल्होसम्म अझै पर्याप्त रूपमा पुग्न सकेको छैन। रु. २,०६० तिर्न तयार जनता, ग्यास भने खोज्दै हिँड्नुपर्ने !
ग्यासको खुद्रा मूल्य रु. २,०६० प्रति सिलिण्डर रहेको अवस्थामा उपभोक्ता तोकिएको मूल्य तिर्न तयार छन्। उनीहरूको समस्या मूल्य होइन, समयमै ग्यास पाउनु हो।
घरेलु उपभोक्तालाई प्राथमिकता दिइएको र होटल तथा रेस्टुरेन्टतर्फको आपूर्ति अस्थायी रूपमा रोकिएको बताइए पनि घरेलु उपभोक्ताकै लाइन हट्न सकेको छैन।
त्रिभुवन राजमार्ग हुँदै वैकल्पिक आपूर्ति गर्ने प्रयास भइरहेको छ। सडक मर्मत तथा आपूर्ति सहज बनाउने काम तीव्र पारिएको सरकारी दाबी छ।
तर सडक पूर्ण रूपमा सहज नहुँदासम्म नागरिकलाई लामो लाइनमा राखेर मात्र समस्या समाधान हुँदैन।
सरकारलाई जनताको सीधा प्रश्न-‘हाम्रो चुल्हो कहिले बल्छ ?’
स्वास्थ्य, शिक्षा र रोजगारी जनताका आधारभूत आवश्यकता हुन्। तर ती आवश्यकतासँगै खाना पकाउने ग्यास पनि आम नागरिकको दैनिक जीवनसँग जोडिएको अत्यावश्यक वस्तु हो।
विपद् वा सडक अवरोध आउँदा आपूर्ति प्रभावित हुनु स्वाभाविक हुन सक्छ। तर त्यस्तो अवस्थामा राज्यको क्षमता भनेकै वैकल्पिक आपूर्ति, प्रभावकारी वितरण र संकट व्यवस्थापन हो।
त्यसैले अहिले बालाजुको सडकमा रित्तो सिलिण्डर बोकेर उभिएका नागरिकले सरकारसँग जवाफ खोजिरहेका छन्-सडक अवरुद्ध हुनु नागरिकको गल्ती होइन।
आपूर्ति व्यवस्थापन कमजोर हुनु पनि नागरिकको जिम्मेवारी होइन तर त्यसको मूल्य भने नागरिकले नै किन चुकाउनुपर्ने ?
जनतालाई भाषण होइन, चुल्हो बाल्ने ग्यास चाहिएको छ
ग्यास संकटप्रति राज्यका उच्च तहबाट ध्यानाकर्षण भए पनि जमिनमा नागरिकको सास्ती कम भएको छैन। बालाजुको लामो लाइनले एउटा गम्भीर सन्देश दिएको छ-‘सरकार, संकटको कारण बताउने होइन, समाधान दिने बेला हो।’
एउटा सिलिण्डर ग्यासका लागि २३ घण्टा लाइनमा बस्नुपर्ने अवस्था सामान्य आपूर्ति समस्या मात्र होइन; यो नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको संकट हो।
अब सरकारसँग जनताको अपेक्षा एउटै छ-वैकल्पिक आपूर्ति तत्काल प्रभावकारी बनाऊ, वितरणमा पारदर्शिता कायम गर र नागरिकलाई रित्तो सिलिण्डर बोकेर दिनरात सडकमा बस्नुपर्ने अवस्थाबाट मुक्त गराऊ।
किनकि अन्ततः प्रश्न ग्यासको मात्र होइन-‘जनताको चुल्हो निभ्न नदिने जिम्मेवारी कसको हो ?’