काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि संघ, प्रदेश र स्थानीय तहसहित सबै सरोकारवालाबीच बलियो समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन्।
मानव बेचबिखनविरुद्धको २०औँ राष्ट्रिय दिवस का अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले मानव बेचबिखनलाई मानव सभ्यताकै कलंक तथा विश्वभर फैलिएको संगठित अपराध को रूपमा चित्रण गरेका हुन्।
यस वर्ष ‘प्रविधिको सही प्रयोग र सजगताः मानव बेचबिखनरहित राष्ट्रनिर्माणमा ऐक्यबद्धता’ भन्ने नाराका साथ दिवस मनाइँदै छ। प्रधानमन्त्री शाहले प्रविधिको तीव्र विकाससँगै मानव बेचबिखन तथा ओसारपसारको प्रवृत्ति, स्वरूप, प्रकृति र गन्तव्यसमेत परिवर्तन हुँदै गएको उल्लेख गरेका छन्।
उनले अपराध नियन्त्रणका लागि सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुरूप नीतिगत र संस्थागत सुधारलाई निरन्तरता दिइरहेको बताएका छन्। मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी विद्यमान कानुनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुकूल बनाउन संशोधन प्रक्रिया अघि बढाइएको पनि उनले जानकारी दिएका छन्।
प्रधानमन्त्री शाहका अनुसार मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई पालेर्मो प्रोटोकलअनुकूल बनाउने विधेयक संसद्मा दर्ता गरिएको छ। यसबाट बेचबिखनका पीडितको मानवअधिकार संरक्षण तथा अन्तर्राष्ट्रिय स्तरमा राज्यहरूबीच सहकार्य र समन्वय थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।
प्रधानमन्त्री शाहले संघीय संरचनाअनुकूल कानुनी तथा संस्थागत संयन्त्र विकास गर्दै मानव बेचबिखनविरुद्धको नीति कार्यान्वयनमा ल्याइएको उल्लेख गर्दै यस अभियानमा सरकार मात्र होइन, प्रदेश र स्थानीय सरकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, विकास साझेदार तथा सम्पूर्ण सरोकारवालाको साझा प्रतिबद्धता आवश्यक रहेको बताएका छन्।
‘हाम्रो साझा पहल र संयुक्त प्रयासले मात्र मानव बेचबिखनमुक्त समाज बनाउन सम्भव हुनेछ,’ प्रधानमन्त्री शाहले आफ्नो सन्देशमा उल्लेख गरेका छन्।
उनले मानव बेचबिखन तथा ओसारपसारविरुद्धको राष्ट्रिय अभियानमा निरन्तर सहयोग र सहकार्य गर्दै आएका सबैप्रति धन्यवाद व्यक्त गर्दै बेचबिखनमुक्त नेपाल निर्माणको साझा अभियानमा थप ऐक्यबद्ध हुन सबैलाई आग्रह गरेका छन्।