Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

रसुवा बाढीको भयावह विवरण : १ हजार ३४४ जनाको शव फेला, करिब ५ हजार अझै सम्पर्कविहीन


२०, भदौ २०८३
  • 87
    SHARES
  • रसुवा बाढीको भयावह विवरण : १ हजार ३४४ जनाको शव फेला, करिब ५ हजार अझै सम्पर्कविहीन

    काठमाडौं । रसुवा बाढी तथा पहिरोको विनाशकारी घटनामा परी बेपत्ता भएकामध्ये हालसम्म १ हजार ३ सय ४४ जनाको शव फेला परेको छ भने करिब ५ हजार व्यक्ति अझै सम्पर्कविहीन रहेका छन्।

    गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार मध्यान्ह १२ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै रसुवा बाढी तथा पहिरोबाट भएको मानवीय र भौतिक क्षतिको पछिल्लो अवस्था सार्वजनिक गरेको हो।

    प्राधिकरणका अनुसार फेला परेका शवमध्ये सबैभन्दा धेरै चितवनमा ३ सय ६० जनाको शव फेला परेको छ। त्यस्तै नवलपरासी पश्चिममा २ सय ३०, नवलपरासी पूर्वमा २ सय २२, नुवाकोटमा १ सय ९२, रसुवामा १ सय ६०, गोरखामा ७३, धादिङमा ६७, तनहुँमा ३८ र काठमाडौंमा उपचारका क्रममा २ जनाको मृत्यु भएको छ।

    मृतकमध्ये ४ सय ८९ पुरुष, २ सय ६९ महिला, ५२ बालिका र ३३ बालक रहेका छन्। यस्तै ५ सय १ शवका आंशिक अवशेष मात्र फेला परेको प्राधिकरणले जनाएको छ।

    १ हजार ३४४ शवमध्ये ९६ जनाको मात्र सनाखत

    बाढीपछि फेला परेका शवमध्ये हालसम्म ९६ जनाको मात्र पहिचान भएको र आफन्तले शव बुझिलिएको जनाइएको छ। ठूलो संख्यामा शवको पहिचान हुन बाँकी रहँदा पीडित परिवारको पीडा झन् थपिएको छ।

    विपद्मा परी घाइते भएका ५ हजार ६ सय ६३ जनाको उपचार गरिएको छ। जसमध्ये विभिन्न अस्पतालमा ३१४ जना, नेपाली सेनाबाट ३ हजार २ सय ६६ जना र सशस्त्र प्रहरी बलमार्फत २ हजार ८३ जनाको उपचार गरिएको छ।

    यसैबीच, हालसम्म १३ हजार ९८ जनाको जीवितै उद्धार गरिएको छ। उद्धार अभियानमा नेपाली सेनाले ९ सय १ पटक र निजी क्षेत्रले १ सय २९ पटक हवाई उडान गरेका छन्।

    ३७ होल्डिङ सेन्टरमा ४ हजार ६ सयभन्दा बढी विस्थापित

    बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङका ३७ वटा होल्डिङ सेन्टरमा ४ हजार ६ सय २७ जनालाई राखिएको छ।

    अझै करिब ५ हजार व्यक्ति सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ। जसमध्ये रसुवाका १ हजार ९ सय ६७, नुवाकोटका २ हजार ३ सय ४०, ५ सय ८९ विदेशी नागरिक तथा करिब १ सय सुरक्षाकर्मी र कर्मचारी सम्पर्कविहीन छन्।

    यद्यपि, सम्पर्कविहीनको तथ्याङ्कमा पहिचान नभएका शव तथा उद्धार गरिएका व्यक्तिहरूसमेत पर्न सक्ने भएकाले विवरण रुजु गर्ने काम भइरहेको प्राधिकरणले जनाएको छ।

    २१ हजारभन्दा बढी सुरक्षाकर्मी उद्धार र राहतमा

    प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि २१ हजार ४ सय २ जना सुरक्षाकर्मी परिचालन गरिएको छ। जसमा नेपाली सेनाका ९ हजार २ सय ८७, नेपाल प्रहरीका ७ हजार ९ सय १२ र सशस्त्र प्रहरी बलका ४ हजार २ सय ३ जना रहेका छन्।

    राहत सामग्री ढुवानीका लागि ८० ट्रक र ३८ बोलेरो प्रयोग गरिएको छ भने सशस्त्र प्रहरीले नुवाकोट र रसुवामा १ सय ७३ हवाई उडानमार्फत राहत सामग्री पुर्‍याएको छ।

    घर, सडक, पुल र जलविद्युत् संरचनामा व्यापक क्षति

    प्रारम्भिक विवरणअनुसार ७ हजार ५ सय ७० निजी घरमा क्षति पुगेको छ। सरकारी संरचना, विद्यालय र स्वास्थ्य संस्थासमेत प्रभावित भएका छन्।

    भौतिक पूर्वाधारतर्फ ५५ किलोमिटर सडक पूर्ण रूपमा ध्वस्त भएको छ भने ३७ वटा मोटरेबल पुल र ६८ वटा झोलुङ्गे पुलमा क्षति पुगेको छ। साथै १३ वटा जलविद्युत् आयोजनासमेत प्रभावित भएका छन्।

    नेपाल सरकारले रसुवा र नुवाकोट जिल्लाका लागि जनही १–१ करोड रुपैयाँ, धादिङका लागि ५० लाख रुपैयाँ तथा प्रभावित १५ पालिकाका लागि १३ करोड ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराएको छ।

    प्रारम्भिक अनुमानअनुसार यस विनाशकारी विपद्बाट ३२ हजार ९ सय ६३ जना प्रत्यक्ष प्रभावित भएका छन्।

    शवको संख्या निरन्तर बढ्दै जानु, हजारौं मानिस अझै सम्पर्कविहीन रहनु र प्रभावित क्षेत्रमा व्यापक भौतिक क्षति हुनु रसुवा बाढीलाई नेपालको पछिल्लो समयकै सबैभन्दा भयावह प्राकृतिक विपत्तिमध्ये एक बनाएको छ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend