काठमाण्डौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ओल्ड दरबार, ८८४८, बाह्रसिङ्गे र पासपोर्ट जस्ता मदिरा उत्पादन गर्ने कम्पनीहरुको स्वामित्व राख्ने नेपाल मदिरा उत्पादक संघका पूर्व अध्यक्षसमेत रहेका रवि केसीको बियर गोदाममा छापा मारेको तीन महिना भइसकेको छ । तर अहिलेसम्म कारबाही केही पनि भएको छैन । कारबाहीको प्रक्रिया अगाडि बढिरहेको र अन्तिम चरणमा रहेको विभाग बताउँछ ।
तर तीन महिनाको अवधिमा बजारमा म्याद गुज्रेका अवैध बियरहरु बिक्री वितरण हुन रोकिएको भने छैन । अझ त्यसका ग्राहक पार्टी प्यालेसहरु हुने र त्यो विभिन्न पार्टीका क्रममा सर्वसाधारणले सेवन गरिरहने अवस्था छ । तर त्यसपछि भने कुनै मिति सकिएका बियरहरु नियन्त्रणमा लिइएको जानकारी विभागले नदिए पनि यसको कारोबारमा कमी नआएको बताइन्छ । ओल्ड दरबार, ८८४८, बाह्रसिङ्गे जस्ता उत्पादनले ठूला उद्योगपतिका रुपमा गनिए पनि पासपोर्ट मदिराको ट्रेडर्माक उल्लंघन गरेको लगायतका विवादित मुद्दा रवि केसीमाथि छन् ।
यस्तोमा विभागले गत वर्षको फागुन २ गते आधिकारिक डिलर रहेको याक ब्रेविङको धुम्बाराहीमा रहेको गोदामबाट बाह्रसिङ्गे ब्राण्डको बियरका म्याद नाघेका २१ सय कार्टुन नियन्त्रणमा लिएको थियो । तीन वटा गोदाममा भण्डार गरिएको यस्तो म्याद नाघेको २१ सय कार्टुन बाह्रसिङ्गे बियर फेला परेको विभागका निर्देशक एवं प्रवक्ता होमनाथ भट्टराईले बताएका थिए ।
करिब ६० लाख मूल्य बराबरको यो बियर ६५० र ३३० मिलिलिटरको बोतल आकारमा रहेको विभागले जनाएको थियो । यस्तै उनकोसमेत स्वामित्वमा रहेका यति डिस्टिलरीले ओल्ड दरबार ओडी र ८,८४८ जस्ता मदिरा उत्पादन गर्दै आएको छ । केसीको समेत स्वामित्व रहेको तेस्रो कम्पनी चण्डिका डिस्टिलरी अन्तर्गत पासपोर्ट मदिरा उत्पादन हुँदै आएको छ । केसीको यो पासपोर्ट मदिराले ट्रेडमार्क उल्लंघन गरेको मुद्दा खेपिरहेको छ ।
त्यसो त बाह्रसिंघेमात्र हैन फागुन ३ गते गोर्खा ब्रुअरी आधिकारिक डिलर भएको सिनामंगल गोदामबाट टुबोर्ग, मुस्ताङ, काल्सबर्ग, बडवाइजर र गोर्खाका मिति सकिएका ३५५ कार्टुन पनि नियन्त्रणमा लिइएको थियो । त्यस्तै फागुन २ गते गोर्खा ब्रुअरीकै सिनामंगलमा गोदाम भएको टुबोर्ग, काल्सबर्ग, गोर्खा प्रिमियम र सान मिगेलका मिति सकिएका ३०० कार्टुन नियन्त्रणमा लिएको थियो ।
साथै सीजी ब्रेअरी प्राइभेट लिमिटेड आधिकारिक डिलररहेको कालस्थान गोदानबाट माघ २७ गथे नेपाल आइस र एभरेष्टका ७० कार्टुन नियन्त्रणमा लिएको थियो ।अहिलेसम्म यी कसैलाई पनि कारबाही भएको छैन । न त यी बियर नष्ट नै गरिएको छ । विभागका प्रवक्ता एवं निर्देशक भट्टराई नियन्त्रणमा लिएको तीन महिनापछि मात्रै बल्ल छिट्टै यो प्रक्रिया टुंगिने चरणमा पुगेको बताउँछन् ।
उनले भने, ‘डिस्ट्रय नष्ट गर्ने अन्तिम चरणमा छ । उनीहरुले राजस्व बुझाएका छैनन् । त्यसको हिसाब मिलेको छैन । हामीले राजस्वमा पनि अनुरोध गरिरहेका छौं । एकमुष्ट कलेक्सन गर्छौं भनेका छन् फ्याक्ट्रीवालाहरुले विशेषगरी । सम्भवतः केही दिनमा उनीहरुले डिस्ट्रय गर्ने समय मिलाएर हामीलाई खबर गर्लान् । हाम्रो प्रतिनिधि पनि जान्छ र रोहबरमा बसेर डिस्ट्रय गर्नुपर्छ ।
भट्टराईले कारबाही पनि हुने र यो पनि अन्तिम चरणमा रहेकाले केही दिनमा कारबाही पनि गर्ने बताउँछन् । उनले अहिले पनि मिति सकिएका बियर बजारमा पाउन नरोकिएकोबारेमा भन्छन्, ‘हाम्रो टोलीले भेटायो भने त समातेर सिल गरिहाल्छ । टोलीले नभेटुन्जेल यसरी गरिएको रहेछ भने यो अपराध हो । यसो गर्न पाइँदैन । नियन्त्रणको यति समयसम्म कारबाही हुन नसकेको बारेमा उनले सम्बन्धित कम्पनीले भन्दा पनि बिचौलियाले यस्ता अवैध गतिविधि गर्ने भएकाले उनीहरुलाई नियन्त्रणमा लिन नसकिएको बताए ।
उनले आफूहरु निर्दोष भएको उत्पादक कम्पनीले बताउने गरेको जानकारी दिए । कम्पनीको भनाइ उधृत गर्दै उनले भने, ‘उत्पादक कम्पनीले हामीले त डिस्ट्रिब्युटरलाई दिने हो । डिस्ट्रिब्युटरले थोक बिक्रेतालाई दिन्छ । थोक बिक्रेताहरुले बजारमा बेच्छन् खुद्रावालालाई । खुद्रालाला त हाम्रो उत्पादनहरु हजारौँ होला देशभरि । हामी सबैकहाँ पुग्न सक्दैनौं हामी डिस्ट्रिब्युटरलाई जान्दछौं । त्यो बीचमा अरु कसैले बदमासी गरेको हुन्छ । हामी त हाम्रो ब्राण्ड भ्यालु बल्ल बल्ल स्थापित गरेका हुन्छौँ कहाँ बिग्रन दिन्छौँ भन्ने खालको उनीहरुको कुरो हुँदो रहेछ ।
प्रवक्ता भट्टराईले आफूहरुले यसभित्र पसेर अनुसन्धान गरेर जाँदै गरिरहेको बताए । उनले भने, ‘अब सानो सानो आउटलेटलाई के गर्ने फुटाइदिने हो । टाउको फुटाइदिने हो । सानोतिनो जरिबाना गर्ने हो । हाम्रो अनुगमनले पनि हेरिराख्या हुन्छ । अब यस्ता कुराहरु बजारमा बेथिति छ भनेर नियन्त्रणकै लागि हो हामी पनि है । हाम्रो स्रोत जति छ त्यो हिसाबमा हाम्रो टोलीले अवान्छित गतिविधि रोक्न लागिरहेको छ ।
अनुसन्धान प्रक्रिया ढिलाइ भएका बारेमा उनले भने, ‘हाम्रो बीचमा मान्छे हुनुभएन । सिलबन्दी गरेकै दुई चार दिनपछि महानिर्देशक हुनुभएन । महानिर्देशकको अनुपस्थितिले पनि ढिलाई भएको हो । नयाँ महानिर्देशक आइसकेपछि काम द्रूत गतिमा भइरहेको छ । यस्तो म्याद नाघेको मदिरा एवं बियर खासगरी रात्रिकालीन पार्टी हुने ठाउँहरुमा पठाइने गरेको विभागले थाहा पाएसँगै छापा मारेको थियो । रात्रिकालीन रेष्टुरेन्ट एवं पार्टी हुने ठाउँहरुमा मदिरा एवं बियर म्याद नाघे ननाघेको हेर्ने मानिसहरु खासै नहुने हुँदा यस्तो बियर त्यहाँ सप्लाई हुने गरेको विभाग स्रोतले दाबी गरेको छ ।