इन्टरनेशनल बुद्धिस्ट सेन्टर, वाल्डो डाइनेस्टी र नेपाल आङ्घोको सहकार्य; ५० लाख नगद, ५० लाख बराबर खाद्यान्न तथा राहत सामग्री
काठमाडौ । विपद्ले घरबार, परिवार र जीवनको आधार नै हल्लाइरहेका बेला राहतका लागि मानवीय हातहरू जुट्ने क्रम पनि तीव्र बनेको छ। यही क्रममा इन्टरनेशनल बुद्धिस्ट सेन्टर, वाल्डो डाइनेस्टी र नेपाल आङ्घोले विपद् प्रभावित नागरिकका लागि एक करोड रुपैयाँ बराबरको सहयोग उपलब्ध गराएका छन्।
अन्तर्राष्ट्रिय रूपमा प्रतिष्ठित यी संस्थाका अध्यक्ष स्टेवार्ड च्याङ र लियाङले ५० लाख रुपैयाँ नगद तथा थप ५० लाख रुपैयाँ बराबरको खाद्यान्न र अत्यावश्यक राहत सामग्री उपलब्ध गराएका हुन्। सहयोग केवल रकम हस्तान्तरणमा सीमित छैन। नगदसँगै खाद्यान्न तथा आवश्यक सामग्री उपलब्ध गराइएकाले तत्काल राहतको आवश्यकता रहेका परिवारसम्म प्रत्यक्ष सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सहयोगस्वरूप प्रदान गरिएको नगद रकमको चेक **नेपालका पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल ‘गणेश’ ले अर्थमन्त्रीका तर्फबाट ग्रहण गरे। चेक ग्रहण गर्दै मन्त्री पौडेलले विपद्को कठिन समयमा सहयोग गर्ने संस्थाप्रति आभार व्यक्त गर्दै प्राप्त सहयोग वास्तविक पीडितसम्म पुग्ने गरी परिचालन गरिने प्रतिबद्धता जनाए।
उनले विपद् प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग महत्वपूर्ण हुने उल्लेख गर्दै मानवीय भावनाका साथ अघि बढेका सहयोगी संस्थाहरूको प्रशंसा गरे।
‘विपद्मा पीडितसँग उभिनु नै मानवीय धर्म’
नेकपा एमालेका नेता, लुम्बिनी प्रदेश सरकारका पूर्वमन्त्री, परराष्ट्र मामिलाका जानकार तथा इन्टरनेशनल बुद्धिस्ट सेन्टरका अध्यक्ष विष्णु पन्थीका अनुसार विपद्को कठिन घडीमा प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले सहयोग जुटाइएको हो।
पन्थीले भने, “विपद्को समयमा पीडित नागरिकलाई साथ दिनु नै मानवीय दायित्व हो। नगदसँगै खाद्यान्न र अत्यावश्यक सामग्री उपलब्ध गराएर तत्काल राहतको आवश्यकतालाई सम्बोधन गर्ने प्रयास गरिएको छ। ”उनका अनुसार राज्यको प्रयासमा निजी क्षेत्र, सामाजिक संस्था तथा अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सहयोग थपिँदा राहत अभियान अझ प्रभावकारी बन्न सक्छ।
राहतभन्दा माथि उठेको ऐक्यबद्धता
विपद्का बेला प्राप्त यस्तो सहयोगले केवल पीडितलाई तत्काल राहत मात्रै दिँदैन, संकटमा कोही एक्लो छैन भन्ने भरोसा पनि दिलाउँछ। पन्थीले मानवीय सङ्कटका बेला गरिएको सहयोगले विपद् प्रभावित नागरिकप्रति ऐक्यबद्धता, सहकार्य र मानवीय संवेदनाको सकारात्मक सन्देश दिएको बताए।
एक करोड रुपैयाँ बराबरको यो सहयोगले विपद् प्रभावित परिवारका लागि तत्काल राहतको हात बढाएको छ। अब चुनौती भनेको सहयोगलाई सही ठाउँमा, सही व्यक्तिसम्म र पारदर्शी ढंगले पुर्याउनु हो।