काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशमा हुने कुनै पनि प्रकारका अमानवीय दुर्व्यवहारविरुद्ध राज्य र राजनीतिक दलहरू निर्मम रूपमा प्रस्तुत हुनुपर्ने बताएका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै लामिछानेले पीडितमाथि अन्याय र अमानवीय व्यवहार गर्नेहरूलाई केवल विज्ञप्ति निकालेर वा औपचारिक कारबाहीको नाटक गरेर उन्मुक्ति दिन नहुने बताएका हुन्।
उनले पीडितलाई न्याय दिलाउने सवालमा राज्यको उपस्थिति स्पष्ट रूपमा देखिनुपर्ने र दोषीमाथि कठोर कारबाही भएको अनुभूति नागरिकले गर्न पाउनुपर्नेमा जोड दिए।
‘देशमा कतैबाट पनि यस्ता अमानवीय दुर्व्यवहार हुन्छन् भने त्यसका विरुद्ध हामी निर्मम हुन्छौँ। हामी केवल विज्ञप्ति मात्र निकाल्ने र नाम मात्रको कारबाही गर्ने पक्षमा छैनौँ,’ लामिछानेले भने।
उनले अपराध र अमानवीय व्यवहारका घटनामा राजनीतिक दबाब, पहुँच वा प्रभावका आधारमा कसैलाई संरक्षण गर्न नहुने बताए। पीडितले राज्य आफ्नो पक्षमा उभिएको महसुस गर्न सक्ने वातावरण निर्माण गर्नु सरकारको प्रमुख जिम्मेवारी भएको उनको भनाइ थियो।
लामिछानेले राज्यले केवल कानुनी प्रक्रिया अघि बढाएको देखाउनेभन्दा पनि न्याय भएको अनुभूति नागरिकसम्म पुग्ने गरी प्रभावकारी काम गर्नुपर्ने बताए।
‘राज्य साँच्चिकै निर्मम हुन सक्नुपर्छ। राज्य पीडितको पक्षमा उभिएको छ भन्ने कुरा नागरिकले महसुस गर्ने गरी काम हुनुपर्छ,’ उनले भने, ‘सरकारले त्यो देखाउनुपर्छ र देखाइदिनुपर्छ।’
सभापति लामिछानेको भनाइले पछिल्लो समय देशका विभिन्न स्थानमा सार्वजनिक भइरहेका हिंसा, दुर्व्यवहार तथा पीडितमाथि हुने अन्यायका घटनामा राज्यको प्रभावकारी भूमिका आवश्यक रहेको सन्देश दिएको छ।
उनले पीडितलाई न्याय दिलाउने विषयमा कुनै पनि प्रकारको सम्झौता स्वीकार्य नहुने संकेत गर्दै दोषीमाथि वास्तविक र परिणाममुखी कारबाही हुनुपर्नेमा जोड दिएका छन्।