काठमाडौँ । नेपालका उच्च जोखिममा रहेका हिमतालबाट आउन सक्ने सम्भावित विपद् रोक्न सरकारले जलस्तर घटाउने तयारी अघि बढाएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमतालको पानी वैज्ञानिक रूपमा निकास गरी जोखिम न्यूनीकरण गर्ने तयारी भइरहेको बताउनुभएको हो।
आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले जोखिमको अवस्था हेरेर आवश्यक परे ब्लास्टिङ प्रविधिबाट हिमतालको पानीको सतह घटाउने विकल्पमा समेत छलफल भइरहेको जानकारी दिनुभयो। तर कुन–कुन हिमतालमा यस्तो उपाय अपनाउने भन्ने विषयमा भने अहिलेसम्म अन्तिम निर्णय भइसकेको छैन।
मन्त्री श्रेष्ठका अनुसार विज्ञहरूसँग परामर्श गरी जोखिमको मात्रा, भौगोलिक अवस्था र सम्भावित क्षतिको अध्ययन भइरहेको छ। अध्ययनपछि अति जोखिममा रहेका हिमतालको पानी सुरक्षित रूपमा निकास गर्ने निर्णय लिइनेछ।
ग्रिन क्लाइमेट फन्ड (GCF) बाट प्राप्त सहयोग परिचालन गरी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र स्थानीय तहसँगको सहकार्यमा यही वर्ष जोखिमपूर्ण हिमतालको जलस्तर घटाउने काम अघि बढाउने सरकारको तयारी छ।
इसिमोड र यूएनडीपीको संयुक्त अध्ययनअनुसार नेपालमा २१ वटा हिमताल जोखिमयुक्त छन्। तीमध्ये कोशी र गण्डकी क्षेत्रमा रहेका चार वटा हिमताल अति उच्च जोखिममा रहेको अध्ययनले देखाएको छ। हिमताल विस्फोटबाट हुनसक्ने बाढी र त्यसबाट हुने जनधनको क्षति रोक्न सरकारले पूर्वतयारीलाई प्राथमिकतामा राखेको जनाएको छ।