रूपन्देही । लामो समयदेखि सडक, स्वास्थ्य र शिक्षाका पूर्वाधारको अपेक्षा गरिरहेको रूपन्देहीको मर्चवार क्षेत्रको विकासलाई प्राथमिकता दिइने भएको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सडक विस्तार, अस्पताल स्थापना, स्वास्थ्य चौकीको स्तरोन्नति तथा विद्यालयका भौतिक संरचना निर्माणका लागि आवश्यक बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका छन्।
सोमबार मर्चवार क्षेत्रको स्थलगत अनुगमन तथा निरीक्षण गर्दै मन्त्री लम्सालले स्थानीय आवश्यकता र प्राथमिकताका आधारमा विकास निर्माणका योजना अघि बढाइने बताए। उनका अनुसार चालु आर्थिक वर्षमै सडक निर्माण प्रक्रिया अघि बढाउने र स्वास्थ्य तथा शिक्षाका पूर्वाधार विकासका लागि चरणबद्ध रूपमा योजना कार्यान्वयन गरिनेछ।
मर्चवारको सडक पूर्वाधार सुधारका लागि दुई खण्डमा चार लेन सडक विस्तार गर्ने योजना अघि बढाइएको छ। पहिलो खण्डको पाँच किलोमिटर सडकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ। उक्त सडक निर्माणका लागि तत्काल बोलपत्र आह्वान गर्ने प्रक्रिया अघि बढाइने मन्त्री लम्सालले जानकारी दिए।
पहिलो खण्डकै थप १५ किलोमिटर सडकको डीपीआर तयार गरी निर्माण प्रक्रिया अघि बढाउने तयारी भइरहेको उनले बताए। दोस्रो खण्डमा केही ढिलाइ भए पनि चालु आर्थिक वर्षको अन्त्यसम्म बोलपत्र आह्वान गर्ने लक्ष्य राखिएको उनको भनाइ छ।
सडक विस्तारले मर्चवारका बासिन्दाको आवागमन सहज बनाउनुका साथै कृषि उपजको बजारीकरण, व्यापारिक गतिविधि विस्तार र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। कृषि उत्पादनका लागि उर्वर क्षेत्र मानिने मर्चवारमा सडक सञ्जालको सुधारले किसानलाई बजारसम्म पहुँच विस्तार गर्नसमेत मद्दत गर्ने विश्वास गरिएको छ।
क्षेत्रको धार्मिक तथा पर्यटकीय सम्भावना उपयोग गर्ने उद्देश्यले मर्चवारी माई मन्दिरसम्म पुग्ने सडक निर्माणलाई पनि प्राथमिकता दिइने भएको छ। मन्दिरसम्म पुग्ने बाटो र त्यसलाई मुख्य सडकसँग जोड्ने सडक चालु आर्थिक वर्षभित्र निर्माण गर्ने योजना रहेको मन्त्री लम्सालले बताए। मुख्य तथा ग्रामीण सडकको निर्माण र स्तरोन्नतिका लागि समेत आवश्यक बजेट व्यवस्थापन गरिने उनले जानकारी दिए।
सडकसँगै स्वास्थ्य सेवा विस्तारलाई पनि मर्चवारको प्रमुख आवश्यकताका रूपमा अघि सारिएको छ। अनुगमनका क्रममा स्थानीयले सर्पदंशका बिरामीको उपचार गर्न सकिने सुविधासहितको अस्पताल स्थापना गर्न माग गरेका थिए। स्थानीयको माग सम्बोधन गर्दै मन्त्री लम्सालले आगामी आर्थिक वर्षको बजेटमा अस्पताल स्थापनाका लागि आवश्यक व्यवस्था गर्ने प्रतिबद्धता जनाए।
स्वास्थ्य उपचारका लागि टाढाका अस्पतालमा जानुपर्ने बाध्यता कम गर्न स्थानीयस्तरमै स्वास्थ्य सेवा उपलब्ध गराउनु आवश्यक रहेको उल्लेख गर्दै उनले विद्यमान स्वास्थ्य चौकीहरूको स्तरोन्नतिलाई समेत प्राथमिकतामा राखिने बताए। सर्पदंशजस्ता आकस्मिक अवस्थाका बिरामीलाई समयमै उपचार उपलब्ध गराउन सकिने स्वास्थ्य संरचना निर्माणले स्थानीयको ज्यान जोगाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
शिक्षातर्फ क्षेत्रका विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि चालु आर्थिक वर्षमा आवश्यक योजनाको डीपीआर तयार गरिने र आगामी आर्थिक वर्षमा बजेट व्यवस्थापन गरी कार्यान्वयनमा लगिने मन्त्री लम्सालले जानकारी दिए। विद्यालयका संरचना व्यवस्थित बनाउँदै विद्यार्थीलाई सुरक्षित र सहज शैक्षिक वातावरण उपलब्ध गराउने उद्देश्यले योजना अघि बढाइने उनको भनाइ छ।
मर्चवार क्षेत्रका विकासका आवश्यकता पहिचान गरी प्राथमिकताका आधारमा योजना अघि बढाउन स्थलगत अनुगमन गरिएको सांसद कन्हैया बनियाले बताए। अनुगमनका क्रममा स्थानीयले उठाएका माग र समस्याको अध्ययन गरी सडक, स्वास्थ्य तथा शिक्षासम्बन्धी योजनालाई कार्यान्वयनमा लैजानुपर्ने उनले उल्लेख गरे।
सडक, स्वास्थ्य र शिक्षालाई केन्द्रमा राखेर अघि सारिएका योजनाले मर्चवारको समग्र विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ। यद्यपि, स्थानीयले लामो समयदेखि भोग्दै आएका समस्या समाधानका लागि घोषित योजना समयमै कार्यान्वयन हुनु र आवश्यक बजेट सुनिश्चित हुनु महत्त्वपूर्ण हुनेछ।