काठमाडौं । बडादशैंको प्रमुख दिन विजयादशमीका अवसरमा आज देशभर घरघरमा मान्यजनबाट रातो टीका र जमरा ग्रहण गरी आशीर्वाद लिने क्रम जारी छ। नवदुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाउँदै सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गरेर नेपालीहरूले हर्षोल्लासका साथ दशैं मनाइरहेका छन्।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज बिहान ८ बजेर ४९ मिनेटमा देवी विसर्जन गरेपछि टीका लगाउन सकिनेछ। विशेष साइतमा टीका ग्रहण गर्न चाहनेहरूका लागि बिहान १० बजेर २६ मिनेटको समय उत्तम निर्धारण गरिएको छ।
विजयादशमीमा रातो टीका विजय, शक्ति र शुभताको प्रतीक मानिन्छ भने जमरालाई सुख, शान्ति र समृद्धिसँग जोडेर हेर्ने गरिन्छ। यस दिन परिवारका ज्येष्ठ सदस्य तथा मान्यजनबाट टीका र जमरा ग्रहण गर्दै आशीर्वाद लिने परम्परा छ। टाढिएका आफन्तबीच भेटघाट, पारिवारिक पुनर्मिलन र आपसी सद्भाव अभिवृद्धि गर्ने अवसरका रूपमा पनि दशैंको विशेष महत्त्व छ।
टीका लगाउँदा दिशाको पनि महत्त्व
दशैंको टीका लगाउने क्रममा धार्मिक मान्यताअनुसार दिशाको पनि ख्याल गरिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार टीका थाप्ने व्यक्ति पश्चिमतर्फ र टीका लगाइदिने व्यक्ति पूर्वतर्फ फर्किनुपर्ने मान्यता छ।
धार्मिक परम्परामा दक्षिण दिशालाई पितृकर्मसँग जोडेर हेर्ने गरिएकाले दशैंको टीका लगाउँदा दक्षिण फर्किने प्रचलन छैन। यद्यपि, कतिपय परिवारमा चन्द्रमाको अवस्थालाई आधार मानेर टीका लगाउने र थाप्ने दिशा निर्धारण गर्ने चलनसमेत रहेको छ।
कलशको जल र कुलदेवताको पूजापछि टीका
देवी विसर्जनपछि दशैंको टीका लगाउने विधि सुरु हुन्छ। परम्पराअनुसार सबैभन्दा पहिले कुलदेवता र पितृदेवताका नाममा टीका चढाइन्छ। दुर्गा पूजा गर्दा स्थापना गरिएको कलशको जलबाट अभिषेक गरी इष्टदेवता र कुलदेवताको स्मरण गर्ने तथा जमरा काट्ने चलन छ। त्यसपछि घरको मूलढोकामा टीका लगाउने परम्पराअनुसार विधि पूरा गरी मान्यजनबाट टीका र जमरा ग्रहण गरिन्छ।
घरमा गुरु वा पुरोहितबाट पूजा स्थापना गरिएको भए उहाँहरूबाट टीका लगाउने चलन छ। अन्यथा परिवारका ज्येष्ठ सदस्य तथा मान्यजनबाट टीका र जमरा ग्रहण गरी आशीर्वाद लिने परम्परा रहिआएको छ।
शुभ साइत छुटे पनि टीका लगाउन सकिने
विजयादशमीमा शुभ साइतको विशेष महत्त्व रहे पनि निर्धारित समयमा टीका लगाउन नसक्नेहरूले चिन्ता लिनु नपर्ने धार्मिक जानकारहरू बताउँछन्। यात्रा गर्नुपर्ने, समय अभाव हुने वा अन्य व्यावहारिक कारणले उत्तम साइतमा टीका लगाउन नसक्नेहरूले बिहान घाम झुल्किएपछि अनुकूल समयमा टीका ग्रहण गर्न सक्ने बताइएको छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य प्रा.डा. देवमणि भट्टराईका अनुसार दशैंको टीका लगाउन तोकिएको साइत छुट्दैमा चिन्ता लिनुपर्ने अवस्था हुँदैन। बिहान विधिपूर्वक मान्यजनबाट टीका ग्रहण गरेपछि टाढा रहेका आफन्त तथा ज्येष्ठ सदस्यकहाँ गएर पनि टीका लगाउन सकिन्छ।
विदेशबाट ढिलो गरी नेपाल आइपुग्ने वा अन्य कारणले निर्धारित समयमा टीका लगाउन नसक्ने व्यक्तिहरूले पनि अनुकूल समयमा मान्यजनबाट टीका र जमरा ग्रहण गर्न सक्नेछन्।
धार्मिक विधि र परम्परासँगै विजयादशमीले पारिवारिक एकता, आपसी प्रेम र सामाजिक सद्भावको सन्देश दिन्छ। मान्यजनबाट आशीर्वाद लिने, आफन्तसँग खुसी साटासाट गर्ने र पुस्तौँदेखि चलिआएका संस्कारलाई निरन्तरता दिने अभ्यासले बडादशैंलाई नेपाली समाजको महत्त्वपूर्ण सांस्कृतिक पर्वका रूपमा स्थापित गरेको छ।