काठमाडौँ । पीएचपी प्रोग्रामिङ ल्याङ्ग्वेजमा देखिएको सुरक्षा कमजोरीका कारण अवरुद्ध भएका नेपालका सरकारी वेबसाइट तथा अनलाइन सेवाहरू पुनः सञ्चालनमा आउन थालेका छन्। आवश्यक सुरक्षा प्याच लागू गरी प्राविधिक परीक्षण पूरा गरेपछि एक हजारभन्दा बढी सरकारी वेबसाइट तथा अनलाइन सेवा नियमित सञ्चालनमा फर्किएका हुन्।
गत बिहीबारदेखि प्रभावित भएका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, भन्सार विभाग, यातायात कार्यालय, मालपोत कार्यालय र नेपाल राष्ट्र बैंकलगायत सरकारी निकायका वेबसाइट अहिले खुल्न थालेका छन्।
पीएचपीमा देखिएको सुरक्षा जोखिमलाई ध्यानमा राख्दै साइबर सुरक्षा निकायहरूले सम्बन्धित सरकारी निकायलाई तत्काल सुरक्षा अपडेट लागू गर्न निर्देशन दिएका थिए। सुरक्षा सुधार गर्न नसकिएका अवस्थामा सम्भावित साइबर जोखिम न्यूनीकरणका लागि वेबसाइट अस्थायी रूपमा बन्द गर्नसमेत आग्रह गरिएको थियो। सोही सतर्कताका कारण विभिन्न सरकारी वेबसाइट तथा अनलाइन सेवाहरू अवरुद्ध भएका थिए।
नेपाल सरकारको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रका अनुसार आवश्यक सुरक्षा प्याच लागू गर्नुका साथै प्राविधिक परीक्षणसमेत सम्पन्न भएपछि एक हजारभन्दा बढी वेबसाइट तथा अनलाइन सेवा पुनः सञ्चालनमा आएका हुन्।
अझै सञ्चालनमा आउन बाँकी रहेका वेबसाइट तथा सेवाहरूलाई पनि चाँडै नियमित अवस्थामा फर्काउने तयारी भइरहेको केन्द्रले जनाएको छ। त्यसका लागि केन्द्रका कर्मचारीहरू निरन्तर खटिएका छन्।
सरकारी प्रणालीमा देखिएको सुरक्षा कमजोरी समाधान गर्न दसैँ बिदाका समयमा समेत कर्मचारीहरूले कामलाई निरन्तरता दिएका थिए। सुरक्षा अपडेट र प्राविधिक परीक्षण पूरा भएका सेवाहरू क्रमशः सञ्चालनमा ल्याइएको केन्द्रले जनाएको छ।
सरकारी वेबसाइट तथा अनलाइन सेवा अवरुद्ध हुँदा प्रभावित भएका सेवाग्राहीलाई क्रमशः सहज हुने अपेक्षा गरिएको छ। यद्यपि, बाँकी सेवाहरू पूर्ण रूपमा सञ्चालनमा नआएसम्म केही सरकारी सेवा लिन कठिनाइ हुन सक्ने देखिएको छ।