काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरूले कात्तिक १२ गते शपथ ग्रहण गर्ने भएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे शपथ ग्रहण कार्यक्रम आयोजना हुने निर्वाचन समितिले जनाएको छ।
निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार नवनिर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहणका लागि समय निर्धारण गरिएको हो। उनले शपथ ग्रहण कार्यक्रममा उपस्थित हुन सबै नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई आग्रह गरिएको जानकारी दिए।
कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित भएका छन्। सभापति थापाले भने यसअघि नै शपथ ग्रहण गरिसकेका छन्।
नवनिर्वाचित केन्द्रीय कार्यसमितिको शपथ ग्रहणसँगै कांग्रेसको नयाँ नेतृत्वले औपचारिक रूपमा जिम्मेवारी सम्हाल्ने प्रक्रिया अघि बढ्नेछ।