पर्वत । नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य एवं नेपाल तरुण दलका निवर्तमान केन्द्रीय अध्यक्ष विद्वान गुरुङले कांग्रेसको आगामी राजनीतिक यात्रा भाषण, औपचारिकता र बन्द कोठाका बैठकमा होइन, नागरिकका घरदैलो र जनजीविकाका सवालमा केन्द्रित हुनुपर्ने स्पष्ट सन्देश दिएका छन्।
नेपाली कांग्रेस पर्वत प्रदेशसभा ‘क’ क्षेत्रीय कार्यसमितिद्वारा आयोजित नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको शपथग्रहण, सम्मान एवं शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै गुरुङले पार्टीको संगठनात्मक संस्कृति र कार्यशैलीमै रूपान्तरण आवश्यक रहेको बताएका हुन्।
नवनिर्वाचित केन्द्रीय सदस्य गुरुङले कांग्रेस सभापति गगनकुमार थापाले अघि सारेको जनतासँग प्रत्यक्ष जोडिने राजनीतिक अभ्यासलाई पर्वतबाटै प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। उनका विचारमा अब कांग्रेसले जनतालाई भाषण सुनाउनेभन्दा जनताका कुरा सुन्ने, समस्या बुझ्ने र समाधानका लागि जिम्मेवारी लिने संस्कार विकास गर्नुपर्छ।
उनले पार्टीका कार्यक्रम खादा, माला, औपचारिक भाषण र सम्मान समारोहमा मात्र सीमित हुन नहुने धारणा राखे। गाउँबस्तीमा पुगेर नागरिकका वास्तविक समस्या पहिचान गर्ने र समाधानका लागि निरन्तर पहल गर्ने राजनीतिक संस्कार स्थापित गर्नुपर्ने उनको भनाइ थियो।
गुरुङले आगामी दिनमा पर्वतका गाउँ तथा वडाहरूमा पुग्दा औपचारिक कार्यक्रम गरेर फर्किने परम्पराभन्दा फरक अभ्यास गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले एउटा वडामा दुईदेखि तीन दिनसम्म बसेर स्थानीय नागरिकका समस्या, आवश्यकता र गुनासा सुन्ने तथा समाधानका लागि आफ्नो तर्फबाट नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताए।
‘राजनीति पद र प्रतिष्ठा देखाउने माध्यम होइन, जनताको सुखदुःखमा साथ दिने जिम्मेवारी हो,’ भन्ने मान्यतासहित उनले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई पनि पदलाई अवसर र जिम्मेवारीका रूपमा लिन आग्रह गरे।
पार्टीको आन्तरिक निर्वाचनलाई लिएर पनि गुरुङले परिपक्व राजनीतिक दृष्टिकोण प्रस्तुत गरे। आन्तरिक प्रतिस्पर्धामा कसैले जित्ने र कसैले हार्ने मानसिकता राख्न नहुने उल्लेख गर्दै उनले भने, “पार्टीभित्रको आन्तरिक निर्वाचनमा कसैको हार वा जित हुँदैन।
वास्तविक हारजित त आम निर्वाचनमा हुन्छ, जहाँ हामी फरक विचार र फरक राजनीतिक दलसँग प्रतिस्पर्धा गर्न मैदानमा उत्रिन्छौँ।”
उनको यो अभिव्यक्ति पार्टीभित्रको प्रतिस्पर्धापछि पनि एकता, सहकार्य र साझा उद्देश्यलाई प्राथमिकता दिनुपर्ने सन्देशका रूपमा हेरिएको छ।
नेपाल तरुण दलको नेतृत्वसहित भ्रातृ संगठनमा एक दशक लामो राजनीतिक अनुभव हासिल गरेका गुरुङले आफ्नो कार्यकालमा पर्वतलाई राष्ट्रिय राजनीतिक वृत्तमा चिनाउने अवसर पाएको बताए। देशका विभिन्न राजनीतिक दलका शीर्ष नेतृत्व, कूटनीतिक व्यक्तित्व, सुरक्षा निकायका प्रमुख तथा उद्योग क्षेत्रका व्यक्तित्वहरूसँग काम गर्ने अवसर प्राप्त भए पनि आफ्नो राजनीतिक यात्रामा जिल्लावासीको शिर झुक्ने कुनै काम नगरेको उनको भनाइ थियो।
उनले आफ्नो राजनीतिक योगदान र अनुभवलाई आगामी दिनमा पार्टी संगठन तथा जनताको सेवामा अझ प्रभावकारी रूपमा उपयोग गर्ने संकेतसमेत गरे।
कार्यक्रममा गुरुङले पार्टी सभापति गगनकुमार थापाप्रति धन्यवाद व्यक्त गर्दै नवनिर्वाचित क्षेत्रीय सभापति तथा सम्पूर्ण कार्यसमितिलाई बधाई दिए। साथै, आफ्नो जिम्मेवारी सफलतापूर्वक पूरा गरेकोमा निवर्तमान कार्यसमितिको योगदानको प्रशंसा गरे।
नयाँ नेतृत्व, नयाँ कार्यशैली र जनतासँग प्रत्यक्ष सम्बन्ध—गुरुङले अघि सारेको सन्देशको मूल सार यही देखिन्छ। केन्द्रीय सदस्यको जिम्मेवारीसँगै पर्वतको संगठनलाई सक्रिय, एकताबद्ध र जनमुखी बनाउने उनको प्रतिबद्धताले कांग्रेसभित्र बदलिँदो राजनीतिक संस्कारको अपेक्षालाई समेत प्रतिनिधित्व गरेको छ।
अब चुनौती भनेको भाषणमा व्यक्त प्रतिबद्धतालाई व्यवहारमा उतार्नु हो। जनताको घरदैलोमा पुग्ने, उनीहरूको आवाज सुन्ने र समाधानका लागि निरन्तर लाग्ने अभ्यासले मात्रै नेतृत्वको वास्तविक उचाइ स्थापित गर्नेछ।