काठमाण्डौं । नेपाली काँग्रेसका सांसद डा. चन्द्र भण्डारीले ग्याँस तथा विजुली प्रयोगसम्बन्धी शिक्षालाई विद्यालयको पाठ्यक्रममै समावेश गर्न सरकारसँग माग गरेका छन् । गत ३ पुसमा आफ्नै घरमा ग्याँस लिक भएर भएको आगलागीमा परी घाइते भएपछि बुधबार पहिलो पटक संसदमा पुगेका उनले सडक लेन क्रस गर्नेदेखि घरमा ग्यास र विजुली कसरी चलाउने भन्ने शिक्षा विद्यालयको पाठ्यक्रममा नै समावेश गर्नुपर्ने बताएका हुन् । जलनमा परेर अघिल्लो वर्ष ११० र यो वर्ष आफ्नो आमासहित १११ जनाको मृत्यु भएको भन्दै उनले यसलाई गम्भीर रुपमा लिनुपर्ने बताएका हुन् ।
३ पुसमा ग्यास चुहिएर भएको आगलागीमा परेर सांसद भण्डारीकी आमाको मृत्यु भएको थियो भने उनको भारतमा उपचार गरिएको थियो । अस्पतालबाट डिस्चार्ज भएपनि उनी पूर्ण रुपमा निको भइसकेका छैनन् । हातमा ब्याण्डेज लगाएकै अवस्थामा संसदमा पुगेका उनले सरकारको नीति तथा कार्यक्रममाथि भएको छलफलमा भाग लिए । जलनका घाइतेमध्ये विगत तीन वर्षमा तीन जना मात्र भेन्टिलेटरमा पुगेर पनि बाँचेको र त्यसमध्ये आफू एक भएको भन्दै उनले उद्दार गर्ने, उपचार गर्ने स्वास्थ्यकर्मी, सहयोग गर्ने सरकार सबैलाई धन्यवाद दिए ।