काठमाण्डौं । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) ले राष्ट्रपति रामचन्द्र पौडेलबाट ‘नेपाल नागरिकता ऐन, २०६३’ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण भएसँगै गैरआवासीय नेपाली खुसी भएको जनाएको छ ।
सङ्घका कार्यकारी अध्यक्ष डा.बद्री केसीले गैरआवासीय नेपालीलाई नेपालको संविधान २०७२ ले प्रदत्त गरेको आर्थिक सामाजिक र साँस्कृतिक अधिकारसहितको ‘गैरआवासीय नेपाली नागरिकता’ प्राप्त गर्ने मार्ग प्रशस्त भएको बताए । नागरिकता विधेयकले विश्वभर छरिएर रहेका लाखौँ गैरआवासीय नेपालीले सन् २००३ देखि उठाउँदै आएको ‘गैरआवासीय नेपाली नागरिकता’ को माग सम्बोधन गरेको उनको भनाई छ ।
“राष्ट्रपति पौडेलको यस कदमले ‘एक पटकको नेपाली सधैँको नेपाली’ भन्ने मूलमन्त्रलाई छिट्टै सार्थक बनाउनेमा पनि हामी विश्वस्त छौँ”, कार्यकारी अध्यक्ष डा केसी भने, “विश्वभरि रहेका नेपालीलाई मातृभूमिसँग जोड्न र विदेशमा आर्जन गरेको ज्ञान, सीप र पुँजीलाई नेपाल भित्र्याउन थप दायित्व बोध गरेका छौँ ।”