बुटवल । देशको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध विमानस्थललाई अन्तर्राष्ट्रिय उडान भर्ने जहाजहरुका लागि विकल्पको रुपमा अवतरण गर्ने स्थल भनिएपनि तर, विमानस्थल शुरु भएको एकवर्ष बितिसक्दा समेत संकल्प पुरा हुन सकेको छैन् । जसरी संकल्पका साथ अर्बाै लगानीमा विमानस्थल निर्माण गरियो सोचेजस्तै गरी भने, उक्त विमानस्थलमा जहाज उड्न सकेका छैनन् ।
यसबीच अन्तर्राष्ट्रिय उडान शुरु गरेका हवाई कम्पनीहरुले पनि थप उडान गर्न चासो नदिएको पाईएको छ । गौतमबुद्ध विमानस्थललाई सञ्चालनमा ल्याउन सेवा शुल्क र ग्राउन्ड ह्यान्डलिङ लगायतमा छुट गराउने बाध्यकारी नियम बनाए पनि अन्तर्राष्ट्रिय उडान प्रभावकारी हुन सकेको छैन्। भौतिक संरचनामा करिब ८ अर्ब र मुआब्जा वितरणमा करिब २७ अर्ब रुपैयाँ खर्च गरेर निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज उडानको चापले व्यस्त हुनुपर्ने अपेक्षा गरेजस्तो नभई जहाज विनाको विमानस्थल बन्दा आन्तरिक खर्च समेत चलाउन ऋण काढ्नुपर्ने देखिएको छ ।
वर्षदिन बित्दा पनि विमानस्थलले नियमित अन्तर्राष्ट्रिय उडानहरु गर्न किन सकेन ? भन्ने गम्भीर प्रश्न खडा हुँदा नेपाल सरकारले पनि यसको नियमित सञ्चालनका लागि खासै चासो जगाएको पाईएको छैन्। बितेको वर्ष एकमात्रै नियमित व्यावसायिक उडान गर्दै आएको जजिरा एयरले पनि हाल नियमित उडान बन्द गरेको छ। अन्तर्राष्ट्रिय विमानस्थलको खर्च व्यवस्थापन गर्न बार्षिक कम्तीमा ६० करोड रुपैयाँ चाहिने उल्लेख छ।