काठमाण्डौँ । अघिल्लो शुक्रबार (जेठ २०) मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्ना ५ मन्त्री, छोरी गंगा दाहाल र नेपाल सरकारका अनेकौँ उच्चपदस्थ अधिकारीहरुसहित भारत उज्जैनस्थित महांकालेश्वर मन्दिर पुगे। भगवान शिवका १२ ज्योतिर्लिंङ्गमध्ये एक उज्जैन महांकालेश्वर हो। प्रधानमन्त्री दाहालले त्यहाँ ५१ हजार भारुको भेटीमात्र चढाएनन्, नेपालबाट लगेका १०८ किलो रुद्राक्ष पनि मन्दिरमा अर्पण गरे। बुबाको चितामा सुटपाइन्ट र छालाको कालो जुत्तासहित पुगेर ‘लाल सलाम’ अर्पण गरेका दाहालले महांकालेश्वरमा भने मखमलका राता कपडाले बेरिएका पाँच सुटकेश रुद्राक्ष अर्पण गरे।
त्यसको ८ दिनपछि शनिबार (जेठ २७) दाहाल फेरि आफ्नो त्यही मन्त्रीहरुको हुल, छोरी र सरकारी कर्मचारीहरुको जत्थालाई पछाडि लगाएर पशुपतिनाथको मन्दिर पुगे। भेटी चढाए। रुद्राक्ष र फूलको माला गलामा पहिरिए र बाहिर निस्के। कतिपयको प्रश्न थियो( महांकालेश्वरको ज्योतिर्लिङ्ग दर्शन गरेपछि पशुपतिनाथको शिवलिंग दर्शन नगरी अनुष्ठान पूर्ण हुँदैन ?
कुनै समय प्रधानमन्त्री छँदा दाहालले पशुपतिनाथ मन्दिरमा भाँडभैलो मच्चाएका थिए। उनले २ सय वर्ष पुरानो परम्परा छिन्नभिन्न गर्दै कर्नाटकका कृष्ण यजुर्वेदी भट्ट ब्राम्हणले मात्र पशुपतिनाथको मूलपूजारी हुने व्यवस्था भत्काएका थिए। नेपाली पूजारी लामो टिकेनन्। दाहालले घुँटा टेक्नुपर्यो र पुरानै व्यवस्था फर्कियो। तान्त्रिक विधिले पूजाअर्चना गरिने पशुपतिनाथ र ज्योतिर्लिङ्गबीच अनन्य सम्बन्ध हुन्छ। महांकालेश्वरसहित सोमनाथ, नागेश्वर, भीमाशंकर, त्र्यम्वकेश्वर, ग्रिश्नेश्वर, वैद्यनाथ, ओंकारेश्वर, काशी विश्वनाथ, केदारनाथ, रामेश्वरम् र मल्लिकार्जुनलाई १२ ज्योर्तिर्लिङ्ग मानिन्छ।
यसै पनि नेपालीहरुले भारतका चारधाम वा अन्य तीर्थस्थल गएर आउँदा पशुपतिनाथमा दर्शन गरेपछि मात्र उक्त तीर्थयात्रा पूर्ण हुन्छ भन्ने आहान छ। शिवभक्तहरुको प्रख्यात तीर्थस्थल केदारनाथसहित चार धाम दर्शन गरेर फर्केर पशुपतिनाथको दर्शन गर्ने प्रचलन छ। पशुपतिनाथलाई केदारनाथको शिर पनि मानिन्छ। संस्कृतिविद् आमोदबर्द्धन कौडिन्न्यायन ज्योतिर्लिङ्ग दर्शन गरेर फर्केपछि पशुपतिनाथको दर्शन गर्नु सामान्य रहेको बताउँछन्।