बुटवल । बुटवल–नारायणगढ सडक निर्माणको क्रममा नै छ। समयमै सडक सम्पन्न भएको भएमा अहिले सडक चिल्लो हुने थियो। बुटवल– नारायणगढको कुल १ सय १४ किलोमिटर सडक यात्रा सहज र छिटोछरितो हुने थियो । तर निर्माण कम्पनीले समयमै काम सम्पन्न नगर्दा उक्त सडकको यात्रा झन्झटिलो मात्रै होइन, उच्च जोखिम छ। निर्माणाधिन सडकमा धुलो उढ्दा बाटो देखिंदैन। धुलोले दिउँसै अन्धकार बनाइदिन्छ। राजमार्ग किनारका सर्वसाधारण पनि धुलोबाट आजित बनेका छन्। पैदलयात्री र मोटरसाइकल चालक तथा सवारी साधनका पीडा त भनि साध्य नै छैन्।
पट्यार लाग्दो यात्रा गर्नुपर्दा सडकमा यात्रा गर्नेहरुले सास्ती व्यहोरिरहेका छन्। धुलोले न त बाटो देखिन्छ न तर अरु गाडी। निर्माणाधिन सडकमा बिग्रेका सवारीले जाम पनि उस्तै छ। जम्मा १ सय १४ किलोमिटर बुटवल– नारायणगढ खण्ड पार गर्न कम्तीमा पनि ५ घण्टा लाग्छ। ‘धुलोले सडक देखिंदैन। ठाउँठाउँमा डाइभर्सन हुँदा सवारीको गति बढ्दैन। बुटवलबाट यात्रा गर्दा ५–६ घण्टामा मात्र नारायणगढ पुगिन्छ,’ नारायणगढबाट बुटवलतर्फ आउँदै गरेका सन्तोष केसीले भने।
धुलोकै कारण कतिपय राजमार्ग किनारका व्यवसायी विस्थापित भएका छन्। चलि आएकामा पनि ग्राहक भेट्न मुस्किल छ। धुलोका कारण धेरैलाई कहि नरोकि सिधा गन्तव्यमा जानुपर्छ भन्ने लाग्दो हो। नास्ता खाना रोके पनि सर्भिस लेनमा आउँन मिल्दैन। त्यसमाथि राजमार्गमा उड्ने धुलोले पनि ग्राहक रेष्टुरेण्टमा पस्दैनन्,’ गैंडाकोटमा व्यवसाय गर्दै आएकी अमृता रानाले भनिन्।
धुलोले खास गरी जंगल क्षेत्रमा अझ बढी सताउने गरेको छ। बर्दघाटदेखि दाउन्नेसम्म धुलोले केही देखिंदैन। बजार क्षेत्रमा फाट्टफुट्ट ठेकेदारले पानी राखे पनि जंगल क्षेत्रमा पानी राख्दैनन्। जसका कारण बाटो नै छोप्ने धुलो उड्छ। त्यसैकारण सबैभन्दा बढी सास्ती मोटरसाइकल र स्कुटर चालकलाई हुने गरेको छ। धुलोले मानिसको अनुहार चिन्न सक्ने अवस्था सो क्षेत्रमा यात्रा गर्नेहरुको हुँदैन।
कावासोती अगाडिको क्षेत्रमा पनि धुलो उस्तै छ। डाइभर्सन हुँदै जाँदा उकालो पर्छ। कच्ची त्यसमा पनि मसिना ढुंगा र धुलोसहितको बाटोका कारण बढी लोड भएका सवारी उकालोमा चढ्न नसक्दा घण्टौ जाम लाग्ने समस्या पनि यहाँ छ। दुई खण्डमा करिब १९ अर्ब रुपैयाँको लागतमा भइरहेको सडक स्तरोन्नतीको काम चाइना कन्स्ट्रक्सनले चार वर्ष अघि ठेक्का पाएको थियो। तर काम धीमा गतिमा अघि बढ्दा सबैले सास्ती व्यहोर्नु परेको छ।
२०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले रुपन्देहीबाट सडक विस्तारको शिलान्यास गर्दा सडक विस्तारको काम सम्झौता भएको मितिले ४२ महिना भित्र सम्पन्न गर्ने भनिएको थियो। तर काम सम्पन्न भएन। पछि थप भएको म्याद २०८० साउनमा सकिंदैछ। अहिलेसम्म करिब ३८ प्रतिशत मात्र काम सम्पन्न भएको छ।