दाङ । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेललाई बिहानै ६ बजे कोइलाबास पुग्नु छ पानी लिएर । त्यसैले उनी घरबाट ५ बज्दानबज्दै पालिका कार्यालय गढवा हानिन्छन् । दमकल पानी भरेर कार्यालय परिसरमा तम्तयार छ । अध्यक्ष आउनासाथ दमकल अघि लाग्छ । उता कोइलाबासवासी पानी भर्ने रित्ता भाँडा लिएर दमकल पर्खिरहेका छन् । बाल्टी, गाग्री, बट्टा, जार, बोत्तल सबै जम्मा गरेका छन् उनीहरु । हेर्दा यस्तो लाग्छ, पानी भर्न मिल्ने कुनै भाँडा बाँकी छाडेका छैनन् उनीहरुले ।
पालिकाको केन्द्र गढवाबाट करिब २८ किलोमिटर यात्रा तय गर्दै चुरे पहाड कटेर भारतसँग सीमा जोडिएको कोइलाबास बजार पुग्छ दमकल । दमकलका कर्मचारी पाइपको सहायताले स्थानीयका सबै रित्ता भाँडा भरिदिन्छन् अनि फर्किन्छन् गढवा । त्यसपछि पुनः दमकल पानी भरेर दिनभर कार्यालय परिसरमै थन्किन्छ । दमकलमा अट्ने ४५ सय लिटर पानी बाँड्दै फर्किंदै गर्ने दैनिकी अहिले चलिरहेको छ ।
कसैले पानी पाउने, कसैले नपाउने नहोस् भनेर रेखदेख गर्न गाउँपालिका अध्यक्ष पोख्रेल आफैं गढवादेखि कोइलाबास आउने जाने गरिरहन्छन् । आफूले नभ्याउँदा वडाअध्यक्षहरुलाई पठाउँछन् । पोख्रेल भन्छन्, ‘सबै स्रोत सुकेपछि कोइलाबासमा पानीको साह्रै दुःख छ । त्यसैले चार दिनयता बिहान ६ बजे दमकलबाट पानी बाँड्न कोइलाबास पुग्छु । त्यसपछि मात्रै अरु काममा लाग्छु । सुक्खायाममा आगलागीको जोखिम हुने हुँदा दमकल तम्तयार राख्नुपर्नेमा पानी बाँड्न पठाउनु बाध्यता भएको उनी सुनाउँछन् ।
लेखक निमबहादुर थापाका अनुसार कोइलाबास नाका दुई सय वर्ष पुरानो हो । भारतको तुलसीपुरसँग जोडिएको दाङको कोइलाबास विगतमा दाङ र त्यस आसपासका जिल्लाका लागि मुख्य व्यापारिक नाका थियो । रोल्पा, रुकुम, सल्यान, प्युठानतिरका मानिसहरु नुनदेखि सुनसम्म किन्न कोइलाबास बजार झर्थे । एकदुई महिनासम्म पुग्ने नुन तेल किनेर फर्किन्थे ।
गढवा गाउँपालिकाका बेदराज शर्मा सम्झिन्छन्, ‘कोइलाबासमा किनमेल गर्न आउजाउ गर्नेहरुको निकै चहलपहल थियो । घोडा, राँगामा बोकाएर सामान ओसार्नेहरुको लस्कर लाग्थ्यो । कतिपयले आफैं पनि सामान बोक्थे । कोइलाबास नाकाको चहलपहल देखेर दाङको देउखुरीमा बसाइँ सरेर आउनेहरु पनि बढे ।
तर पूर्वपश्चिम महेन्द्र राजमार्ग राप्ती नदीभन्दा उत्तरतिरबाट बनेपछि कोइलाबास नाकाको चहलपहल घट्दै गयो । मानिसहरु राजमार्ग नजिक केन्द्रित हुन थाले । राजमार्गमा गाडीहरु गुड्न थालेपछि कपिलवस्तुको कृष्णनगर र बाँकेको नेपालगञ्ज नाकामा चहलपहल बढ्यो । दाङको कोइलाबास नाका सुक्दै गयो । कोइलाबास विकासमा पछि पर्यो । थुप्रै भौतिक संरचनाहरु खण्डहरमा परिणत भए ।
सुविधाजनक ठाउँ खोज्ने क्रममा नाकावासीले पनि आफ्नो थातथलो छाड्न थाले । वडा अध्यक्ष अब्दुल खालिक सिद्धिकीका अनुसार हाल कोइलाबास क्षेत्रमा २०८ घरधुरी र १ हजार १२ जनसंख्या रहेको बबताईएको छ । लमही–गढवा हुँदै कोइलाबास पुग्ने सडक २०७७ साल असोजमा मात्र पिच भयो । बाटो पिच भएर आउजाउ गर्न सहज भएपछि अब फेरि कोइलाबासमा चहलपहल फर्काउने प्रयास भइरहेको छ । तर उही पानीकै समस्याले कालाकुल छन् कोइलाबासवासी ।
वडाअध्यक्ष सिद्धिकीका अनुसार २०३६ सालमा खानेपानी डिभिजन कार्यालय घोराहीले सिसौरा खोलाबाट पानी ल्याएर कोइलाबासवासीलाई खुवाउँथ्यो । पछि त्यहाँको वस्ती पातलो हुँदै गएपछि उसले हात झिक्यो । त्यसपछि मानिसहरु पानीका लागि भारतको शरणमा पर्न बाध्य भए । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले बिजुली बाल्न दिने सर्तमा पानी दिन तयार भयो । नेपालीले बिजुली प्रयोग गर्न दिए, उसले पानी । हरेक दिन आफ्नो क्याम्पबाट पानीको पाइप जोडिदिएर नेपालीहरुलाई दियो एसएसबीले ।
कोरोना महामारी शुरु भएपछि त्यो पानी दिन बन्द गर्यो एसएसबीले । वडाअध्यक्ष सिद्धिकी भन्छन्, ‘हामीलाई नै पानी अभाव छ भन्दै एसएसबीले कोरोनाकालको बेलादेखि पानी दिन छाड्यो, हामीबाट बिजुली चाहिँ प्रयोग गरिरहेको छ ।
त्यसपछि कोइलाबासवासी झन् विचल्लीमा परे । लगत्तै स्थानीय जनप्रतिनिधिको पहलमा २०७७ सालमा डिप बोरिङको योजना पर्यो । एक लाख लिटरको ट्यांकी निर्माण गरियो र घर–घरमा धारा र मिटर जोडेर पानी बाँडियो । सुक्खायाममा बोरिङबाट पनि पानी आउन छाड्यो । ‘जम्मा ७० मिटर गहिराइमा बोरिङ गाडियो,’ वडाअध्यक्ष सिद्धिकी भन्छन्, ‘त्यहीभएर हरेक वर्ष सुक्खायाममा पानी आउँदैन ।