काठमाण्डौँ । काठमाण्डौँ महानगरपालिकाका मेयर बालेन शाहले हिन्दी सिनेमा चल्न अन्तरिम आदेश दिएको उच्च अदालत पाटनको आदेशलाई खुला चुनौती दिएका छन्। महानगरपालिकाको काठमाडौँमा हिन्दी फिल्म चल्न नदिने अडानबिरुद्धको रिटमा उच्च अदालत पाटनले हिन्दी फिल्ममा रोक नलगाउन अन्तरिम आदेश जारी गरेलगत्तै उनले फिल्म चल्न नदिने बताएका छन्।
उनले सामाजिक सञ्जालमा भनेका छन्, जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ, म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन । उनले ‘आदिपुरुष’का लेखकले नेपाल भारतको अधीनमा थियो भनेकाले भारतीय पक्षको नियत थाहा भएको दाबी पनि गरेका छन्। ‘यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नु र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो, अदालत र सरकार भारतको गुलाम भएको बुझिन्छ,’ उनले लेखेका छन्। उनले यसका लागि जुनसुकै सजाय भोग्न तयार रहेको उल्लेख गर्दै फिल्म चल्न भने नदिने बताएका छन्।