काठमाण्डौं । नेपाल–भारतीको सीमाबाट हुने लागुपदार्थ तस्करी र नेपालमा लागुपदार्थ सेवन गर्ने मानिसहरूको संख्या हिसाब गर्ने हो भने नियन्त्रण त परै जाओस्, समाजलाई नै तहसनहस बनाउने स्थितिमा पुर्याउँदैछ। हरेक वर्ष जुन २६ मा विश्वले लागुपदार्थ तथा अवैध तस्करी विरुद्धको दिवस मनाउने गर्दछ। तर विश्वकै चित्रमा लागुपदार्थ दुर्व्यसनको अवस्था झनझन भयावह बन्दै गएको पाइन्छ ।
नेपालका सीमावर्ती क्षेत्रका त कुरै नगरौँ। सीमावर्ती भारतीय बजारमा खुल्लम खुल्ला पाइने नशालु पदार्थ सेवन धेरै नेपाली युवाको दैनिकी बन्दै गएको छ। जुन कुरा प्रहरीले कारबाही गरेको तथ्यांकले पुष्टि गर्छ। प्रहरीका अनुसार चालु आर्थिक वर्ष २०७९र०८० को एघार महिनाको अवधिमा इलाका प्रहरी कार्यालय, काँकरभिट्टामा लागुऔषधका ४५ वटा घटना दर्ता भएका छन्।
यी घटनामा ४ महिलासहित ६९ जना मानिस पक्राउ परेका छन्। उनीहरू सबैका साथबाट प्रहरीले खैरो हेरोइनमात्र फेला पारेको छ। अन्य लागुऔषध इन्जेक्सन तथा ट्याब्लेटभन्दा ओसारपसार गर्न सजिलो हुने भएकाले उनीहरूको रोजाइमा पछिल्लो समय खैरो हेरोइन परेको प्रहरीको भनाइ छ। बरामद गरिएका विभिन्न प्रकारका लागुपदार्थको परिणाम कुनै दोब्बर र कुनै तेब्बरले बढेको प्रहरी अधिकारीहरूले बताएका छन्। अधिकारीहरूका अनुसार अहिले ब्राउन सुगर, गाँजाजस्ता वस्तुको कारोबार ह्वात्तै बढेको देखिन्छ।
ब्राउन सुगर र गाँजाको बरामद परिणामका आधारमा त्यस्ता प्रकारका वस्तुहरूको सेवनकर्ता ह्वात्तै बढेको अनुमान गर्न सकिने अधिकारीहरूको भनाइ छ।
प्रहरीका अनुसार नेपालमा लागुपदार्थ भित्रिने प्रमुख चारवटा नाका रहेका छन्। त्यस्ता नाकाहरूमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नेपालगञ्ज, भैरहवा तथा काँकरभिट्टा रहेका छन्।
विभिन्न मुलुकबाट नेपालमा लागुपदार्थ भित्र्याउने वा नेपाल हुँदै अन्य मुलुक लैजाने क्रम विगतदेखि नै चल्दै आएको लागुऔषध नियन्त्रण ब्यूरोले जनाएको छ। त्यसका अतिरिक्त खुल्ला सीमाको फाइदा उठाउँदै भारतबाट त्यस्ता लागुपदार्थ अन्य नाकाहरूबाट नेपाल भित्र्याउने गरिएको ब्यूरोले जनाएको छ। खुला सीमाको फाइदा उठाउँदै काँकरभिट्टा नाकाबाट नेपाल भित्र्याइँदै गरेका लागुपदार्थसहित मान्छे पक्राउ पर्ने क्रम दिनहुँजस्तो छ। जिल्ला प्रहरी कार्यालय, झापाले उपलब्ध गराएको विवरणमा लागुपदार्थ कारोबारी तथा सेवनकर्ता प्रायः दिनहुँ पक्राउ पर्ने गरेका छन्।
लागुपदार्थ दुर्व्यसन र कारोबारको स्थिति भयावह बन्दा पनि सरकारले खास नीति नल्याएको लागुपदार्थ दुर्व्यसनको क्षेत्रमा काम गर्नेहरू बताउँछन्। बर्सेनि लागुपदार्थ दुर्व्यसनमा संलग्न हुने व्यक्तिहरूको सङ्ख्या बढ्दा पनि सरकारको आँखा विशेष रूपले त्यस क्षेत्रमा पर्न नसकेको लागुपदार्थ दुर्व्यसनको क्षेत्रमा काम गर्ने संस्था नार्कोनन् नेपालका प्रमुख वसन्तराज कुँवरले बताउँदै आएका छन्।
चालु आर्थिक वर्षमा नै झापाको भद्रपुर विमानस्थलबाट दुई दिदीबहिनी लागुऔषधसहित पक्राउ परेका थिए। बुद्ध एयरको जहाजबाट काठमाडौँ जान लागेका मकवानपुर हेटौंडा उपमहानगरपालिका-१ कि घर भइ हाल झापाको मेचीनगर बस्ने ती दिदीबहिनीबाट ७६ ग्राम ३ सय ४० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको थियो।