नयाँ दिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई धरौटीमा रिहा गर्ने निर्णय रद्द गरिएको छ ।
दिल्लीको कथित रक्सी घोटाला मामिलामा मुख्यमन्त्री केजरीवाललाई धरौटीमा रिहा गर्ने अदालतको फैसलाविरुद्ध प्रवर्तन निर्देशनालय (ईडी) ले उच्च अदालतमा निवेदन दिएपछि उक्त निर्णय रद्द गरिएको हो ।
बीबीसीका अनुसार अतिरिक्त सलिसिटर जनरल एसभी राजूले मुख्यमन्त्री केजरीवालको मुद्दामा तत्काल सुनुवाईको माग गरेका छन् ।
जस्टिस सुधीर कुमार जैन र रविन्द्र दुदेजाको इजलाशले मुख्यमन्त्री केजरीवालविरुद्धको मुद्दाको फाइल आफ्नो बेन्चमा आए तत्काल सुनुवाइ गर्ने बताएको छ ।
सुनवाई पूरा नभएसम्म उच्च अदालतले केजरीवालको धरौटीमा रिहा हुने निर्णयमा रोक लगाएको हो । दिल्लीको राउज एभेन्यू अदालतले बिहीवार तिहाड जेलमा रहेका मुख्यमन्त्री केजरीवाललाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।